काठमाडौं । नेपाली काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेसले असहयोग गरेर गठबन्धन तोड्नुपरेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाईमा कुनै सत्यता नरहेको बताएका छन् ।
मंगलवार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकलगत्तै सञ्चारकर्मीमाझ उनले सो प्रतिक्रिया दिए ।
प्रवक्ता महतले काँग्रेस र काँग्रेसका मन्त्रीहरुले असहयोग गरेर गठबन्धन परिवर्तन गर्नुपरेको भन्ने प्रधानमन्त्री दाहालको भनाईलाई आफ्नो पार्टीले ठाडै अस्वीकार गर्ने बताए ।
आफूहरुलाई बहाना बनाएर प्रधानमन्त्री दाहालले गठबन्धन परिवर्तन गरेको उनको बुझाई थियो । प्रवक्ता महतले आफूले प्रधानमन्त्री दाहालकै निर्देशन अनुसार आगामी आर्थिक वर्षको बजेटका सिलिङ तोकेको पनि बताए ।
उनले भने– यो सबै कुरा के हो भने अब गठबन्धन परिवर्तन गर्ने उहाँहरुको आफ्नो मक्सद होला । त्यसको चाहीँ कारण होला । तर हामी कारण होइन । नेपाली काँग्रेस र हामी कोही पनि मन्त्री कुनैपनि आधारमा कारण होइन । यो बहाना मात्रै हो । कपोलकल्पित हो । यसमा कुनै सत्यता छैन । ठाडै नेपाली काँग्रेस र हामीले अस्वीकार गर्छौं । र, उहाँको मक्सद अरु नै हो । हामीले असहयोग गरेर छोडेको भन्ने कुरामा कुनै सत्यता छैन ।
प्रवक्ता महतले सत्तारुढ गठबन्धन परिवर्तन गर्ने मक्सद अरु नै केही भएको पनि दोहोर्याए ।
Comments are closed.