काम नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द हुन्छ : मन्त्री ज्वाला

सल्यान । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले समय अवधिभित्र काम नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरिने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ सल्यानले बिहीबार सल्यान खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले जुनसुकै ठाउँबाट दबाब आए पनि काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडिने बताउनुभयो ।

उहाँले भन्नु भयो ‘निर्माण व्यवसायीले ठेक्का लिने र होल्ड गर्ने काम भइरहेको छ । ठेक्का लिएर सम्झौता भइसकेपछि, हामी काम गराउनेमा जान्छौँ, उपाय नै भएन भने त्यो ठेक्का हामी तोड्छौँ, र तत्काल नयाँ ठेक्का प्रक्रियामा जान्छौँ ।’ विकास निर्माणका योजनाप्रति बदमासी र बेइमानी गर्ने छुट कसैलाई नभएको भन्दै मन्त्री ज्वालाले जनतालाई केन्द्र बिन्दुमा राखेर काम गर्ने बताउनुभयो ।

उहाँले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न मद्दत गर्ने खालका योजनामा पनि जोड दिने र ढिलाइ भएका विकास निर्माणका कामलाई प्राथमिकता दिने बताउनुभयो ।

मन्त्री ज्यालाले यातायात क्षेत्रमा बिचौलियाको चलखेलले गर्दा जनताले दुख पाएको, भाडा दर जथाभाबी लिएको गुनासो आएकोले यसलाई सुधार गर्ने बताउनुभयो । बीस वर्ष पुराना चल्न नसक्ने गाडी चलिरहेकाले यसले दुर्घटनाकाको जोखिम बढेकाले यसलाई ध्यान दिने बताउनुभयो ।

यसैबीच मन्त्री ज्वालाले राप्ती लोक मार्ग र मदन भण्डारी राजमार्ग आफ्नो प्रमुख प्राथमिकता भएको बताउनुभएको छ

Comments are closed.