कोरियाले भन्यो- एकै वर्ष एउटा समूहमा सहभागी परीक्षार्थी अर्को समूहको परीक्षामा सहभागी हुन नपाउने

भाषा परीक्षालाई लिएर नेपालमा देखिएको विवादप्रति कोरियाली दूतावासको चासो
काठमाडौं । रोजगार अनुमति प्रणालीअन्तर्गतको भाषा परीक्षा (ईपीएस) लाई लिएर नेपालमा देखिएको विवाद र समस्याप्रति नेपालस्थित कोरियाली दूतावासले उच्च चासो राखेको छ ।नेपालस्थित कोरियाली राजदूतले आज (मंगलबार) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवलाई भेटेर नेपालमा विकसित घटनाप्रति चिन्ता व्यक्त गरेका हुन् । नेपालमा भइरहेको आन्दोलनले कोरियाली रोजगारदाता चिन्तित भएको राजदूतले सरकारी अधिकारीहरुलाई बताएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले जानकारी दिए । आन्दोलन जारी रहे रोजगारदाताले श्रमिक छनोटमा अनिच्छा प्रकट गर्न सक्नेतर्फ पनि नेपाली पक्षको ध्यानाकर्षण गराएका थिए ।
ईपीएस रोजगारी प्रणालीमा देखिएका समस्या समाधानका लागि दुवै देशका अधिकारी सम्मिलित प्राविधिक समिति बनाएर अगाडि बढ्ने विषयमा पनि छलफल भएको मन्त्रालयका अधिकारीले जनाएका छन् ।
श्रम मन्त्रालयले भने अहिले भाषा परीक्षाका विषयलाई लिएर केही विवाद देखिए पनि आगामी दिनमा त्यस्तो हुन नदिने प्रतिबद्धता जनाएको छ । श्रम सचिव भण्डारीले अदालतको आदेशका कारण सीप बिल्डिङ समूहका परीक्षार्थीलाई उत्पादन समूहको परीक्षामा सहभागी गराइएको जानकारी दिए ।उनले कोरियाली पक्षसँग अदालतको आदेश स्वीकार गरिदिन आग्रहसमेत गरेका छन् । कोरियाले एकै वर्ष एउटा समूहमा सहभागी परीक्षार्थीलाई अर्को समूहको परीक्षामा सहभागी गराउन नसक्ने भन्दै यस विषयमा अर्को चरणमा थप छलफल गर्ने बताएको छ ।

Comments are closed.