गठबन्धनभित्र कांग्रेस–माओवादी अविश्वास नयाँँ समीकरणको बाटोमा एमाले – माओवादी

काठमाडौं। नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म चलेको महासमिति बैठकले चुनावमा गठबन्धन नगर्ने निर्णय गरेको हप्ता दिनमै नेकपा (माओवादी केन्द्रको) बुधवारको स्थायी कमिटी बैठकले आफ्नो तर्फबाट राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेपछि गठबन्धनमा अविश्वास बढेको छ। माओवादी केन्द्रले पनि कांग्रेसले झैं चुनावमा गठबन्धन नगर्ने निर्णय गरेको छ। निर्णयले गठबन्धनभित्र अविश्वास बढाएको छ। यसले आगामी चुनावमा कांग्रेससँग गठबन्धन नहुने ठानेर दाहाल अहिलेदेखि नै झस्किएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मन्त्रीहरू हेरफेर गर्ने विषयले बढाएको दूरी राष्ट्रिय सभा अध्यक्षमा छुट्टाछुट्टै उम्मेदवारी दिने तहसम्म पुगेको छ । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले धोका दिएको भन्दै माओवादी नेताले गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने माग स्थायी कमिटीको बैठकमा गरेका छन्। राष्ट्रिय सभामा छोड्नु हुँदैन भन्ने कुरा उठेपछि राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय भएको छ, माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले भने । कांग्रेस सभापति शेरबहादुर देउवाले नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने चाहेका बेला माओवादीको निर्णयले गठबन्धनमा संकट पैदा गरेको हो। जबकि, दाहाल र देउवाकै समझदारीमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने योजनाका साथ राष्ट्रिय सभामा ल्याइएको थियो । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल गठबन्धन दल नेपाली कांग्रेससँग एउटा मात्रै कारणले रुष्ट भएका होइनन् । गठबन्धन गरेपछि कांग्रेसले पटकपटक आफूलाई धोका दिएको बुझाइ प्रधानमन्त्री दाहालको छ ।
कांग्रेस महासमितिमा उठेको हिन्दु राष्ट्रको एजेण्डाले पनि माओवादी झस्किएको छ। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले महासमिति बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा सशस्त्र द्वन्द्वका कारण देश फेरि अर्को दलदलको भासमा फस्न पुग्यो भन्ने वाक्यप्रति माओवादी केन्द्रले असन्तुष्टि जनाइरहेको छ। माओवादी – कांग्रेसको असन्तुष्टि सार्वजनिक रूपमै देखिन थालेपछि प्रचण्डले फागुन ३ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकमा कांग्रेससँगको गठबन्धनबारे समीक्षा गर्नुपर्ने ब्रिफिङ गरेका थिए। कांग्रेसको शेखर कोइराला र गगन थापा समूह अहिलेको गठबन्धनप्रति सुरुदेखि नै असन्तुष्ट छन् । माओवादी केन्द्र संसद्को तेस्रो दल भएर पनि प्रधानमन्त्री उसैलाई दिएकोमा शेखर–गगन समूह सन्तुष्ट छैन । प्रधानमन्त्री पद कांग्रेसले नै लिनुपर्ने माग यो समूहको छ । यसलाई प्रधानमन्त्री दाहालले रुचाएका छैनन् ।कोशीमा भइरहेका गतिविधिलाई पनि माओवादी केन्द्रका नेताले गम्भीर रूपमा लिनुपर्ने बताइरहेका छन्।सत्ता गठबन्धन दलबीच कोशी प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति भएको थियो । त्यही कारण माओवादी केन्द्रले आफ्नो पार्टीबाट सभामुख भएका बाबुराम गौतमलाई पदत्याग गर्न लगाएर गठबन्धनमा बहुमत पु¥याउँदै मुख्यमन्त्री लिने निर्णय ग¥यो । तर कांग्रेसको शेखर कोइराला पक्षका नेता केदार कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बने । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका अरू उम्मेदवार निर्वाचित हुँदा कोशीमा माओवादी केन्द्रकी चम्पादेवी कार्की पराजित भएकी थिइन्।कांग्रेसको एउटा समूहको असहयोगले आफ्ना उम्मेदवार पराजित भएको बुझाइ माओवादी केन्द्रको छ ।एमालेले राप्रपासँग गठबन्धन गरेपछि एमालेका तर्फबाट रुक्मणि कोइराला निर्वाचित भएकी थिइन्। कोशीमा गठबन्धनविरुद्ध देखिएका गतिविधिपछि माओवादी केन्द्र नेकपा एमालेसँग निकट हुन थालेको छ। फागुन ८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्ला एक्लै वार्ता गरेर सत्ता समीकरणमा बदलाव आउन सक्ने संकेत दिएका थिए। प्रचण्ड–ओली भेटको भोलिपल्टै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई सत्ता सहकार्यमा ढुक्क रहन प्रचण्डलाई आश्वस्त पार्न खोजेका थिए। कांग्रेस र माओवादीका नेता एक अर्काप्रति आरोप प्रत्यारोपमै उत्रिँदा माओवादी – एमालेका पछिल्ला गतिविधिले भने समीकरणमा बदला आउने संकेत देखिएको नेताहरूको भनाइ छ।
प्रधानमन्त्री दाहालले पटक–पटक मन्त्रिपरिषद् हेरफेर गर्ने अभिव्यक्ति दिए पनि कांग्रेस सभापति देउवाले मानेका छैनन् । देउवाले विभिन्न बहानामा लगाम लगाउन खोजेको भन्दै प्रधानमन्त्री दाहाल असन्तुष्ट छन् । मन्त्री फेरबदलका विषयमा पनि गठबन्धनभित्र किचलो छ। प्रचण्डले कमजोर कार्य सम्पादन रहेका र विभिन्न प्रकरणमा विवादमा रहेका मन्त्रीलाई बदल्न चाहे पनि कांग्रेस सभापति देउवाको असहमतिका कारण रोकिएपछि गठबन्धनमा असहजता पैदा भएको हो। आफूसँग परामर्श नगरी अर्थमन्त्री प्रकाशशरण महतले एकलौटी निर्णय गर्दै आएको गुनासो प्रधानमन्त्री दाहालको छ । बजेट संशोधन गर्दा अर्थमन्त्रीले एकलौटी गरेको बुझाइ पनि प्रधानमन्त्रीको छ । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेले गठबन्धन अप्ठेरोमा परे पनि राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारीमा पार्टी पछि नहट्ने दाबी गरे।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र जनार्दन शर्माले पनि माओवादी केन्द्रको केन्द्रीय कमिटीको पछिल्लो बैठकमा काँग्रेससँगको समीकरण अब अघि बढाउन नसकिने विचार राखेका थिए।नेकपा (एकीकृत समाजवादी) ले पनि सत्ता सञ्चालनमा माओवादीप्रति प्रश्न गर्न थालेपछि प्रचण्ड ओलीसँग संवादमा जुटेका हुन्। माओवादी केन्द्रका नेताले मात्रै होइन समीकरण टुट्ने संकेत एमाले अध्यक्ष ओलीले पनि गरेका छन्। उनले बुधवार विराटनगर विमानस्थलमा अब गठबन्धन जसरी पनि टुट्ने दाबी गरे। ‘गठबन्धन खरानीको डल्लो हो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ,’ ओलीको भनाइ छ। यसअघि एमालेको केन्द्रीय कमिटीको बैठक उद्घाटनका क्रममा पनि ओलीले गठबन्धन टुटाउने चेतावनी नेपाली कांग्रेसलाई दिएका थिए।
May be an image of 2 people, dais and text that says 'Lokantar.com'
All reactions:

3

Comments are closed.