गठबन्धन सरकारले एउटा पनि देखिने काम गर्न सकेन: केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले एउटा पनि देखिने काम गर्न नसकेको बताउनुभएको छ ।

आइतबार नेकपा एमालेको कैलालीको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै ओलीले वर्तमान सरकार नालायक भएको बताउनुभयो । उहाँले सरकारले कुनै गतिलो काम नगरेको टिप्पणी गर्नुभयो । ‘प्रधानमन्त्रीले एउटा पनि देखाउन लायकको काम गर्नुभएको छैन’, उहाँले भन्नुभयो ।

ओलीले यो सरकार निकम्मा भएकोले सरकारले केही काम गर्न नसक्ने दाबी गर्नुभयो । ‘यो निकम्मा सरकार हो, यसले केही काम गर्न सक्दैन’, ओलीले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले पटक पटक सच्चिने कुरा गर्नुभएको भए पनि अब उहाँले सच्चिने  सम्भावना नरहेको ओलीले बताउनुभयो । ‘७० वर्ष पुग्न लाग्नुभयो, अहिलेसम्म नसच्चिएको कहिले सच्चिने ?’ उहाँले प्रश्न गर्नुभयो ।

ओलीले अहिले राष्ट्र निक्कै कमजोर अवस्थामा पुगेको बताउनुभयो । देशमा कुशासन, अनियमितता र भ्रष्टाचार बढेको तथा राष्ट्रिय स्वाभिमान संकटमा परेको ओलीले टिप्पणी गर्नुभयो ।

ओलीले आफू प्रधानमन्त्री हुँदा गरेका काम सरकारले रोकेको भन्दै आलोचना गर्नुभयो । विकासका सबै काम सरकारले ठप्प पारेको उहाँले टिप्पणी गर्नुभयो । सरकार विकासका सबै काम ठप्प बनाएर भ्रष्टाचार र तस्करीको काममा लागेको उहाँले बताउनुभयो ।

ओलीले अधिवेशनबाट सक्षम र योग्य नेतृत्व चयन गर्न निर्देशन दिनुभयो । उहाँले अधिवेशनको क्रममा कुनै पनि गुटबन्दी नगर्न पनि आग्रह गर्नुभयो ।

ओलीले यस अघि कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन  गर्नुभएको थियो । भवन उद्घाटन गर्दै ओलीले गाउँपालिकालाई कुराको होइन विकासको नेता हुन आग्रह गर्नुभयो ।

ओलीले व्यावसायिक कृषि उत्पादनबाट मात्र समृद्धिको सपना साकार हुने बताउनुभयो । नयाँ प्रविधिको प्रयोगले कृषि उत्पादन बढाउन सकिनेमा उहाँले जोड दिनुभयो ।

Comments are closed.