गृहमन्त्री रविलाई बोल्नबाट रोक्यो कांग्रेसले

काठमाडौं । प्रतिनिधि सभाको आजको वैठकमा बोल्ने गृहमन्त्री रवि लामिछानेको प्रयास असफल भएको छ । विभिन्न दिनको वैठकमा सांसद्हरुले गृह मन्त्रालय सम्बन्धमा उठाएको प्रश्नहरुको जवाफ दिन मन्त्री लामिछानेले बोल्ने प्रयास गर्नुभएको थियो । तर, नेपाली कांग्रेसले कडा विरोध गरेपछि आजको कार्यसूचीमा सो विषय नै राखिएन ।

प्रतिनिधि सभाको शन्य समय, विशेष समय, आकस्मिक समय लगायतमा सांसद्हरुले उठाएका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीले दिने व्यवस्था छ । यो व्यवस्था अनुसार आज परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षा मन्त्री सुमना श्रेष्ठले जवाफ दिनुभयो । दुई मन्त्रीले बोल्न पाए पनि गृहमन्त्रीलाई भने बोल्नबाट कांग्रेसले रोकेको हो ।

नेकपा एमालेका प्रमुख सचेतक र रास्वपाका प्रमुख सचेतकले गृहमन्त्री रविले बोल्न पाउनुपर्छ भनेर कार्यव्यवस्था परामर्श समितिमा प्रस्ताव लगेको बुझिन्छ । आज बिहान पनि दुई सचेतकले गृहमन्त्री रविलाई समय उपलब्ध गराउन निक्कै प्रयास गरेको जानकारी प्राप्त भएको छ । तर, नेपाली कांग्रेसले संसदीय छानविन समिति नबनाई गृहमन्त्री रविलाई बोल्न दिने हो भने सदनको सबै कारवाही अवरुद्ध गर्ने चेतावनी दियो । त्यसपछि सभामुख देवराज घिमिरेले आज गृहमन्त्रीलाई बोल्न नदिउँ भन्नुभएको थियो ।

स्रोत अनुसार सभामुख घिमिरेले आज निजामती विधेयक प्रस्तुत हुन लागेको, कांग्रेसले अवरोध गरेमा विधेयक प्रस्तुत गर्न नसकिने भएकाले आज रविलाई बोल्न नदिउँ भनेर प्रस्ताव राख्नभएको थियो ।

गृहमन्त्रीलाई बोल्न समय दिन खोजिएको विषयमा आज प्रतिनिधि सभा वैठकको सुरुमै सांकेतिक अवरोधपछि बोल्न समय पाउनुभएका विश्वप्रकाश शर्माले संकेत गर्नुभएको थियो । कार्यव्यवस्था परामर्श समितिमा कांग्रेसको सहमति बेगर कुनै पनि एजेन्डा घुसाइयो भने कांग्रेसले नमान्ने उहाँले बताउनुभएको थियो । शर्माले गृहमन्त्री रवि लामिछानेलाई वैठकमा बोल्न दिने पर्दा पछाडि भएको प्रयासबारे पनि संकेत गर्नुभएको थियो ।

गृहमन्त्री रवि गाँसिएको सहकारी घोटाला प्रकरणमा संसदीय छानविन समिति बनाउने सहमति नगरिएमा कांग्रेसले अबको प्रतिनिधि सभा वैठक अवरुद्ध गर्ने घोषणा गरेको छ ।

Comments are closed.