चोरीमा संलग्न ६ जनाको समूह लागुऔषधसहित पक्राउ

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकाका विभिन्न १०/११ ठाउँमा चोरी गरेर आतंकित बनाउँदै आएका ६ जनाको समूह पक्राउ परेको छ ।कपिलवस्तु, रुपन्देही र नवलपुर घर भई वाणगंगा नगरपालिकाका गोबडिहवामा डेरा गरी बसेका उनीहरुले केही महिनादेखि चोरी धन्दा चलाउँदै आएका थिए । उनीहरुको शंकास्पद गतिबिधिबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय पिपराको प्रहरी टोली उनीहरुको डेरामा पुगेर चोरी गरिएका सरसमान र अबैध लागुऔषध ब्राउन सुगर ७१० मिलिग्रामसहित पक्राउ परेका हुन् ।
उनीहरुका साथबाट दुई वटा मोटरसाइकल र विभिन्न दरको ३ लाख ४९ हजार २५५ रुपयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ । भारतीय सेनामा कार्यरत सैनिकको चादीका तक्मा र सुन जस्तो देखिने तिलहरी, औँठी, सिक्री, बाला, चन्द्रमा, झुम्का, ब्रासलेट र चुराका टुक्र पनि बरामद गरिएको छ ।
विभिन्न कम्पनीका ९ थान मोबाइल, ल्याबटप, डिजिटल क्यामेरा, चक्कु र दाबसहितको तिखो हतियार पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

Comments are closed.