जति बल गरेपनि गठबन्धन टुट्दैन, पाँचै वर्ष जान्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गर्नुभएकाे छ ।

गोरखाको वारपाक सुलिकोट गाउँपालिकामा बुधबार आयाेजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जति षड्यन्त्र गरेपनि गठबन्धन नटुट्ने दाबी गर्नुभयाे । उहाँले भन्नुभयाे – ‘म अहिले गर्वका साथ भन्छु जति षडयन्त्र भइरहेका छन्, हाम्रो गठबन्धन अझ बलियो र सुद‍ृढ हुँदै गएको छ र यो गठबन्धन पाँचै वर्ष जान्छयाे गठबन्धन पाँचै वर्ष जान्छ, एक वर्ष न बित्याे ।’

सरकारले एक वर्षे कार्यकालमा रेकर्ड गर्न लायक काम गरेकाे दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले बाँकी ४ वर्षमा धेरै ठूला सफलता हासिल गर्ने बताउनुभयाे । ‘१ वर्ष बित्दा बित्दै पनि यति काम त भएका छन् भने हेर्नुहाेला, अर्को ४ वर्ष यो गठबन्धन हुँदा हामीले ठूल-ठूला सफलता प्राप्त गर्न सक्छौँ’- उहाँले भन्नुभयाे ।

मंसिरकाे पहिलाे साता आकाशै खस्छ जसरी व्यवस्था विरुद्ध अनेक हाेहल्ला गर्ने काम भएकाे भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसलाई विफल पारिएकाे बताउनुभयाे । दुर्गा प्रसाईंतर्फ लक्षित गर्दै उहाँले भन्नुभयाे – ‘अस्ती मंसिरको पहिलो हप्ता त आकाशै खस्छ कि, धर्ती नै भासिन्छ जस्तो गरी होहल्ला गरे एकथरी मान्छेले, जनतालाई पनि के हुन लाग्यो भन्ने पर्‍यो, हामी हेर्छौं कहीँ केही देख्दैनौं, तर होहल्ला भएको भएकै छ, हामीले बढो धैर्यता र द‍ृढताका साथ त्यसलाई विफल तुल्याइयो ।’

त्यसपछि भएका अरू धार्मिक जातीय तथा अतिवादी सोच र प्रवृत्तिलाई आफूहरूले परास्त गरेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।

गाउँगाउँमा सिंहदरबार पुर्‍याउनुपर्छ भनेर आफूहरु लडेकाे भन्दै उहाँले अहिले प्रत्यक्ष रुपमा नै त्याे भएकाे बताउनुभयाे । देशैभर महिला, दलित र उत्पीडित वर्ग समुदायकाे प्रतिनिधित्वबाट समानुपातिक समावेशी प्रणाली ए‍ेतिहासिक भएकाे भन्दै प्रधानमन्त्री प्रचण्डले यसबाट हिजाेका सामन्त, दलाल र नाेकरसाहहरु छटपटिएका बताउनुभयाे ।

गठबन्धन टुटाउन खाेज्ने, परिवर्तनलाई उल्ट्याउन खाेज्ने, जनतालाई निराशा बनाउन खाेज्ने, केही भएकाे छैन भन्ने भ्रम छर्न खाेज्ने विध्वस्त प्रवृत्ति देखा परेकाे भन्दै उहाँले सबै मिलेर त्यसकाे प्रतिवाद गर्नुपर्ने बताउनुभयाे ।

Comments are closed.