काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई सन्तुष्ट बनाउन नसकिएकाे बताउनुभएकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार ललितपुरमा आयोजना गरेको नेपालको अर्थतन्त्र र शासकीय सुधारको विषयक अन्तक्रिया कार्यक्रममा उहाँले सरकारले विभिन्न क्षेत्रको सुधारका लागि धेरै प्रयास गरेको तर परिणाम जनता सन्तुष्ट हुने ठाँउसम्म पुग्न नसकेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयाे – ‘सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि पूरै प्रयास जारी राखेको छ, तर जनता पूरै सन्तुष्ट हुने ठाउँमा पुगेका छैनन् ।’
शासकीय सुधार गरेर समग्र कार्यपद्धतिमै परिवर्तन ल्याउन जरुरी रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । प्रत्यक्ष रुपमा सेवा प्रवाहकाे अनुभव नगर्न नसके जनताको भरोसा टुट्दै जाने भन्दै उहाँले तत्काल जनतामा सेवा प्रवाह गर्न जरुरी रहेको बताउनुभयाे । ‘हामीले तत्काल जनतालाई सेवा प्रवाह गर्नेमा सुधार गर्नु जरुरी छ, जनताले यो वाद र त्यो वादभन्दा पनि सेवा प्रवाहमा सुधारको अपेक्षा राख्छन्, जनताले प्रत्यक्ष रुपमा सेवा प्रवाहको अनुभूत गर्न सकेनन् भने राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रप्रति पनि भरोसा कमजोर हुँदै जान्छ’- प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे ।
जनतालाई सेवा दिन सकिने गरी विद्यमान प्रणालीमा सुधारका लागि लाग्न उहाँले कर्मचारी संयन्त्रलाई निर्देशन दिनुभयाे । शासकीय सुधार आयोग गठन गर्ने तयारी भइरहेकाे पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । शासकीय प्रणाली सुधार गर्नेबारे छलफल थालिएकाे भन्दै उहाँले शासकीय सुधार आयोग गठन गरेर आवश्यक समीक्षा गरिने बताउनुभयाे ।
आफूले यस पटककाे कार्यकालमा प्रशासनको सुधारमा ध्यान केन्द्रित गरिरहेकाे तर अहिलेसम्म आउँदा विविध कारणले खासै प्रगति नदेखिएको प्रधामन्त्री प्रचण्डकाे गुनासाे थियाे । अब प्रशासन मात्रै नभएर समग्र शासकीय सुधारमा नै सरकारको ध्यान रहेको उहाँले बताउनुभयाे ।
देशकाे अर्थतन्त्रमा समस्या रहेकाे भन्दै प्रधानमन्त्री प्रचण्डले समस्या पूर्ण रुपमा समाधान नभएपनि सुधारउन्मुख नै रहेको दाबी प्रधानमन्त्री गर्नुभयाे । अब चाँडै नै नीति कार्यक्रमको तर्जुमा र नयाँ बजेटको तयारी गर्नुपर्ने भन्दै उहाँले अर्थतन्त्रको सुधारहरुका उपायहरु अबलम्वन गर्दै अघि बढिने दाबी गर्नुभयाे ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राष्ट्रको प्रतिष्ठा बढाउने जमर्को आफूले गरिरहेकाे दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले खुलेर छलफल गर्न कर्मचारी संयन्त्रलाई निर्देशन दिनुभयाे । रणनीतिक र तत्कालीन रूपमा गर्ने कामको ठोस कार्यसुची तयार पार्न पनि उहाँले निर्देशन दिनुभयाे ।
Comments are closed.