काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले नयाँ सत्ता गठबन्धन सत्ताको हेराफेरी मात्र भएको बताउनुभएको छ ।
शनिबार जनकपुरमा आयोजित बहुल राष्ट्रिय राज्य निर्माणका लागि बृहत् सम्वादात्मक कार्यक्रममा बोल्दै महतोले नयाँ सत्ता गठबन्धनले देश र जनताको लागि केही काम नगर्ने बताउनुभयो । ‘पालै पालो लुटतन्त्र मच्चाउने खेल त हो, त्यसैले यो गठबन्धन सरकार, पहिलो गठबन्धन सरकार, जुनसुकै गठबन्धन सरकार आए पनि उही हो, जनताले केही पाउने होइन, जनताले अधिकार पहिचान पाउने होइन, जनताको समृद्धि र विकास हुने होइन, लुटतन्त्र चल्ने हो, भ्रष्टाचार चल्ने हो, त्यही न हो’, महतोले भन्नुभयो ।
महतोले मधेस केन्द्रित दल पनि स्वार्थको लागि जुट्ने र स्वार्थकै लागि फुट्ने गरेका बताउनुभयो । विगतमा त्यही भएको उहाँले सुनाउनभयो । त्यसले अधिकार र पहिचान दिन नसकेको उहाँले बताउनुभयो ।
मधेसवादी दल विगतमा एकै ठाउँमा आएर मधेस आन्दोलन गरेका भए पनि सो आन्दोलन सफल हुन नसकेका उहाँले बताउनुभयो । अधिकार पहिचानवादी एकजुट भएर आन्दोलन नगरेसम्म पहिचानको आन्दोलन सफल नहुने उहाँले बताउनुभयो । मधेसवादी, आदिवासी जनजाति, थारु सबै एक भएर पहिचानको आन्दोलन गर्नुपर्ने उहाँको धारणा छ । त्यसैको लागि राष्ट्रिय मुक्ति क्रान्ति जरुरी रहेको उहाँले बताउनुभयो ।
महतोले कांग्रेस र कम्युनिष्टबाट मधेसी नेता जन्मिएका भए पनि उनीहरूको रगतमा मधेसवाद नदेखिएको उहाँले बताउनुभयो । कांग्रेस र कम्युनिष्ट औपनिवेशिक र नश्लीय चिन्तनले भरिएको पार्टी भएका उहाँले टिप्पणी गर्नुभयो । मधेसी नेताबाटै आफूले धेरै दुख पाएको उहाँले सुनाउनुभयो ।
Comments are closed.