टी-ट्वान्टी आई क्रिकेट शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा

 

काठमाडौँ- हङकङमा हुने टी-ट्वान्टी आई क्रिकेट शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको हो। टी ट्वान्टी शृंखलाका लागि घोषणा गरिएको राष्ट्रिय टोलीमा चार नयाँ सदस्यले पुनरागमन गरे। लोकेश बम, साहब आलम, बसिर अहमद र नन्दनकुमार यादवले राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन्।

केही समयअगाडि मात्र सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उनीहरूले राम्रा प्रदर्शन गरेका थिए। आगामी अप्रिल ९ देखि १३ सम्म हङकङमा शृंखला हुने तय छ। विकेटकिपर तथा ब्याटर लोकेशले पछिल्लोपल्ट सन् २०२४ को १३ मार्चमा पपुवा न्यूगिनीविरुद्ध खेलेमा थिए। त्यसयता उनी टोलीमा थिएनन्।

स्पिनर साहबले भने करिब तीन वर्षपछि टोलीमा पुनरागमन गरेका हुन्। उनले पनि अन्तिमपल्ट सोही वर्षकै अगस्ट २९ मा केन्याविरुद्ध खेलेका थिए। अलराउन्डर बसिर पनि लामो समयपछि टोलीमा फर्किएका हुन्। उनले अन्तिमपल्ट केन्यासँगै खेलेका थिए। अर्का अलराउन्डर नन्दन पनि टोलीमा समेटिएका छन्। तर, उनले डेब्यु गर्न बाँकी छ।

रोहितको कप्तानीमा रहेको टोलीमा लोकश, नन्दन, बसिर र साहबसँगै कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, रिजन ढकाल, गुलसनकुमार झा र कुशल मल्ल छन्। यस शृंखलामा चर्चित स्पिनर सन्दीप लामिछाने र अनिल साह भने बन्द प्रशिक्षणमा नै समावेश थिएनन्। सन्दीप शल्यक्रियाबाट रिकभर गरिरहेका छन् भने अनिलले औंलामा चोट सामना गरेका थिए।

प्रधानमन्त्री कप एकदिववसीय क्रिकेटमा राम्रो प्रदर्शन गरेका किरण ठगुन्ना, अर्जुन घर्ती र दीपेन्द्र रावतले भने टी ट्वान्टी फरम्याटको राष्ट्रिय टोलीमा स्थान बनाउन सकेनन्। यस टी ट्वान्टी शृंखलामा नेपालसहित घरेलु टोली हङकङसहित कतार र कुवेतले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले कतारसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्ने तय छ। लिग चरणमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

Comments are closed.