दाङ र बर्दियामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, ४ वैशाख

दाङ, घोराही उपमहानगरपालिका-११ खैरा चोकमा घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु.२ ख ३८१ नम्बरको ट्रकले लु.७३ प ११६२ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिंदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १७ वर्षीय गोपाल बिक (सुदन) को घटनास्थलमै र मोटरसाइकल चालक सोही उपमहानगरपालिका-११ खैरा बस्ने २६ वर्षीय सन्देश बस्नेतको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिया, मधुवन नगरपालिका-५ स्थित सडकमा ढोढरीबाट गुलरियातर्फ जाँदै गरेको भे.१ क १८१४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय लाल बहादुर भाटको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.