दिल्ली घोषणापत्र अन्तर–आत्माको आवाज बनेको भन्दै जी–२० सम्मेलनप्रति रुस खुसी

रुसले जी–ट्वेन्टी शिखर सम्मेलन युक्रेनीकरण हुनबाट जोगिएको प्रतिक्रिया दिएको छ।रुसी विदेशमन्त्री सर्गेइ लावरोभले भारतको नयाँ दिल्लीमा सम्पन्न जी–ट्वेन्टी शिखर सम्मेलन आफूले अपेक्षा गरेभन्दा विपरीत युक्रेनीकरण हुनबाट जोगिएको बताएका हुन्।उनले दिल्ली घोषणापत्रमा प्रयोग भएका तटस्थ शब्दले आफूलाई आश्चर्यचकित बनाएको भन्दै आयोजक भारतप्रति आभार व्यक्त गरेका छन्। उनले जी–ट्वेन्टी शिखर बैठकलाई भारतले राजनीतिकरण हुन नदिएको भन्दै घोषणापत्रमा उल्लेखित कुराहरु आफ्नो अन्तरआत्माको आवाज रहेको बताएका छन्। यसअघि युक्रेनले भने जी–ट्वेन्टी शिखर सम्मेलनले कुनै पनि आशालाग्दो र गर्व गर्न लायक निर्णय नलिएको भन्दै निराशा व्यक्त गरेको थियो। चीन र रुसका राष्ट्रपति सहभागी नभएको जी–ट्वेन्टी शिखर बैठकमा युक्रेनमाथि जारी रुसी आक्रमणको निन्दा हुन सक्ने आंकलन गरिएको थियो।तर, रुससँग ठूलो व्यापार रहेको भारतले आयोजना गरेको सम्मेलन रुसप्रति नरम हुँदै सम्पन्न भयो। भारतले राष्ट्र संघीय महासभा तथा सुरक्षा सम्मेलनहरुमा रुसविरुद्धका प्रस्तावमा तटस्थता व्यक्त गर्दै आएको थियो। जी–ट्वेन्टी शिखर सम्मेलन रुस–युक्रेन युद्धका विषयमा चुप लागेको छ। तर आणविक हतियार प्रयोगमा भने असहमति जनाएको छ।

Comments are closed.