काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै सामाजिक सञ्जालमा मन्त्रीहरुलाई बधाइ दिनदेखि सचेत गराउनेसम्मको सक्रियता बढेको छ । अहिले सामाजिक सञ्जाल यस्तै पोस्टले भरिएका छन् । सामाजिक सञ्जालका प्रयोगकर्ताले मन्त्रिपरिषद्मा आएका नयाँ अनुहारबाट केही आशा गर्न सकिने अपेक्षा गरेका छन् भने पुरानै नेताहरुको आलोचना गरेका छन् ।
गठबन्धन बन्नु, भत्कनु अनि फेरि बन्नुबाट वाक्क भए पनि नेपाली जनताले अहिले बनेको सरकारका मन्त्रीबाट सकारात्मक आशा भने राखेका छन् । तर केही मन्त्रीलाई भने सामाजिक सञ्जालमार्फत उनीहरुले खबरदारी गरेका छन् भने पटक-पटक मन्त्री भएकामा तिक्तता पनि व्यक्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्री बनेकी सुमना श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री बनेका विराजभक्त श्रेष्ठ नयाँ हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका नेकपा एमालेका बलराम अधिकारी पनि पहिलोपटक मन्त्री बनेका हुन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा नयाँ पुस्ता र नयाँ अनुहार ल्याएकामा आशालाग्दा अनुहार भन्दै प्रशंसा गरेका छन् । नयाँ पुस्ताले नयाँ ढर्राले काम गरेर देखाउनु पर्ने कतिपयले सुझाव दिएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अन्तिम उपलब्धि होइन, सुरुवात हो भन्दै- शपथको फोटो नै सामाजिक सञ्जालमा राखेकी छन् । उनको पोस्टमा जैनेन्द्र जीवनले लेखेका छन्- ‘गठबन्धनको हिलोमा कमल भई फुल्ने कि फोहोर भई मिसिने, तपाईंकै हातमा छ ।’ नरेश खनालले आफूलाई प्रश्नभन्दा माथि हुँ भन्ने सोच मात्रै पनि आएको दिन तपाईंको पतन निश्चित छ भनेर सचेत गराएका छन् ।
सावित्री लामिछाने भुसालले नवनियुक्त मन्त्री पदम गिरीको पोस्टमा कमेन्ट गर्दै लेखेकी छन् नेपाली जनताको आशाको दियो, काम बढी बोली कम ।
प्रधानमन्त्री पुष्पकमल दाहालको फेसबुक वालमा सचिन रोकायले लेखेका छन्- प्रचण्डले जोसुकैलाई धोका दिन सक्छन्, तर देश र जनतालाई कहिलै धोका दिन सक्दैनन् । मन्त्रिपरिषद् पुनर्गठनबारे वीरबहादुर रसाइली लेख्छन्- अहिलेको यो गठबन्धन सरकार कहिलेसम्म टिक्ने हो हेर्दै जाम नेपाली जनताले । विपिन चौहानले व्याङ्ग्य गर्दै लेखेका छन्- पहिले जाडोमा सूर्य गर्मीमा रुख… अहिले जाडोमा रुख गर्मीमा सूर्य… जलवायु परिवर्तनले गर्दा होला । ईश्वरी ओझाले माओवादीप्रति व्याङ्ग्य गर्दै लेखेका छन्- ३२ सिटेले सबैलाई फनफनी घुमाइराछ त कारण यस्तो रैछ धन्यवाद । देशका लागि हो यस्तै गरी अगाडि बढ्नुस् ।
सुकवीर ओलीले- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको पोस्टमा पटक-पटक एउटै व्यक्ति मन्त्री बनेकाले खासै उत्सव मनाइहाल्नुपर्ने देखिँदैन भनेर निराशा व्यक्त गरेका छन् । लुना भट्ट शर्माले एक्समा दुईपटक समीकरण फेर्दा पनि काम गर्न नसक्ने अक्षम को भयो ? भनेर प्रश्न गरेकी छन् । उनले प्रधानमन्त्री पनि नयाँ हुनुपर्ने भनेकी छन् ।
सुरेन्द्र धानुक मण्डलले १२५ सीसीदेखि १७५ सीसीसम्मका मोटरसाइकलको कर छुट गरिदिन आग्रहसहितको पोस्ट गरेका छन् ।
अहिलेसम्मको समीकरण हेर्दा उपप्रधानमन्त्रीको संख्या बढ्ने देखिएको छ । शैलेश श्रेष्ठले उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री आफैं बन्ने निर्णय गरेकोमा व्यांग्य गर्दै लेखेका छन्- उपप्रधानमन्त्रीहरूको लर्को ।
वर्षमान पुन अर्थमन्त्री बनेको समाचारमा प्रतिक्रिया दिँदै जयराम पौडेल लेख्छन्- जति सक्दो धेरै सुन भित्र्याएर देशलाई धनी बनाउनुपर्छ है मन्त्रीजी । प्रकाश आचार्यले अर्थमन्त्रीले अर्थतन्त्र बुझेका छन् ? भनेर प्रश्न गरेका छन् । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका नारायणकाजी श्रेष्ठ निरन्तर मन्त्री बनेकामा मिरज दाहाल लेख्छन्- जनतालाई बिहान के खाउँ बेलुकी के खाऊ छ नारायणकाजीचाहिँ बिहान गृह बेलुका परराष्ट्रमन्त्री !! क्या मोज छ है सत्ता भनेर व्यांग्य गरेका छन् ।
नारायण वाग्लेले भद्रकालीमा राखिएको निषेधित क्षेत्रको सूचनाको फोटो पोस्ट गर्दै प्रश्न गरेका छन्- मन्त्री हेरफेर भए, अब नागरिक भरोसा बढाउने कुनै चेस्टा होला कि यस्तै नियन्त्रण जारी राखेर चल्ने ?
Comments are closed.