बागलुङ । बागलुङको निसीखोलामा गाउँपालिका ६ जाउलेपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ भने २८ जना घाइते छन् । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।
बागमती प्रदेश ०१-००६ख३८७९ नम्बरको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटना भएको थियो ।दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट-१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका-२ रातामाटाका सवारी धनी बबिदेल नेपाली, मुसिकोट नगरपालिका-४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका-३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका-५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ ।
घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा र अन्य २७ जनाको बागलुङस्थित धवलागिरि अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट १५० मिटर तल खसेको थियो ।
Comments are closed.