नेपालको वित्तीय क्षेत्रमा अहिलेसम्मकै ठूलो लगानी, ग्लोबल आइएमईलाई साढे ७ अर्ब

काठमाडौं। विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आइएमई बैंकलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब ७ अर्ब ४१ करोड रुपैयाँ ऋण दिने भएको छ।नेपालको वित्तीय क्षेत्रमा आईएफसीको यो अहिलेसम्मकै सबैभन्दा ठूलो ऋण लगानी हो। ऋण लगानी सम्बन्धमा बैंक र आईएफसीबीच शुक्रबार सम्झौता भएको छ।
यो ऋण महिलाद्वारा सञ्चालित व्यवसायलगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री आयोजनालाई सहयोग गर्न परिचालन गरिनेछ।साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिष्पर्धी बनाउन सहयोग गर्नु, वित्तीय समावेशीकरणमा सुधार गर्नु, रोजगारी सृजना गर्नु र जलवायु लक्ष्य प्राप्तिमा सहयोग गर्नु यस लगानीको उद्देश्य हो।
यो रकमबाट ग्लोबल आइएमई बैंकलाई साना तथा मझौला व्यवसाय, कोभिड १९ बाट प्रभावित उद्यम, महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यम र ग्रामिण क्षेत्रमा रहेका उद्यम व्यवसायलाई सहयोग गर्न सघाउ पुग्नेछ।
आईएफसीको यस लगानीले स्वच्छ यातायात, जलवायु–स्मार्ट कृषि र सौर्य परियोजनालगायत विभिन्न क्षेत्रको जलवायु वित्तमा पहुँच बढाएर नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका प्रयासमा विशेष योगदान पुर्याउने छ।
यस ऋणको ५० प्रतिशत ग्लोबल आइएमई बैंकले साना तथा मझौला र खुद्रा ग्राहकका लागि जलवायु तथा लैङ्गिक क्षेत्रको लगानीमा समानरुपमा विनियोजन गर्नेछ। बाँकी ५० प्रतिशत साना तथा मझौला उद्यमहरुमा कर्जा प्रवाह गर्न प्रयोग गर्नेछ।नेपालमा कुनै पनि विकास वित्तीय संस्थाले कुनै पनि बैंकलाई लैङ्गिक वित्तीय फाइनान्स उपलब्ध गराएको यो पहिलो पटक हो।
नेपालको अर्थतन्त्रको मेरुदण्ड साना तथा मझौला उद्यमले मुलुकको कुल गार्हस्थ उत्पादनमा २२ प्रतिशत योगदान गरेको छ भने २० लाखभन्दा बढीलाई रोजगारी दिएको छ। तथापि, ४४ प्रतिशत साना तथा मझौला उद्यमलाई अझै पनि वित्तीय पहुँचमा बाधा छ।
महिलाको स्वामित्व रहेका करिब ५२ प्रतिशत साना तथा मझौला उद्यममा सीमित वित्तीय पहुँच रहेको तथ्यांक छ। ग्लोबल क्लाइमेट इन्डेक्स (२०२१) मा जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित देशको दशौं स्थानमा रहेको नेपालका लागि सन् २०४५ सम्म शून्य उत्सर्जनको लक्ष्य भेटाउन जलवायु वित्तको विशेष महत्व छ।
नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले देशमा वैदेशिक लगानी ल्याउन राष्ट्र बैंकले सहयोग गर्ने प्रतिवद्धता जनाइन्।ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएफसीसँगको ऋण सम्झौताबाट नेपालका साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने बताए।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले यो सम्झौताबाट नेपालको ग्रामिण क्षेत्रका महिलालाई आर्थिकरुपमा सशक्त बनाउन र लैङ्गिक असमानता कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।आईएफसीले ग्लोबल आइएमई बैंकलाई जलवायु र लैङ्गिक वित्त व्यवसायका साथै जोखिम व्यवस्थापन फ्रेमवर्क बनाउन समेत सहयोग गर्नेछ।
आईएफसीका नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले नेपालमा वित्तीय समावेशीकरण र वित्तीय क्षेत्रको स्थायित्व आईएफसीको मुख्य प्राथमिकता भएको बताए। ‘आर्ईएफसीको यो ऋण लगानीले नेपालमा थप महिलाको सशक्तीकरण हुने, रोजगारी सृजना गर्ने र जलवायु तथा आर्थिक क्षेत्रमा वित्तीय पहुँच बढाउने विश्वास छ,’ उनले भने।
नेपालका लागि आईएफसीका आवासीय प्रतिनिधि बाबाकर एस फायले आईएफसीको यस फाइनान्सले नेपालका साना तथा मझौला उद्यमहरुमा फाइनान्सिङ गर्न सहयोग पुग्ने बताए।

Comments are closed.