काठमाडौँ । नेपाली क्रिकेट र एथलेटिक्सका खेलाडीले नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पटर्स अवार्ड २०७९ को चार विधामा वर्चस्व कायम गरेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले शुक्रवार पत्रकार सम्मेलन गर्दै चार विधाका शीर्ष तीनभित्र परेकाको मनोनयन सार्वजनिक गरेको हो ।
यस पटक २० औं संस्करण माघ २८ गते आइतबार याक एण्ड यति होटलमा आयोजना हुँदैछ । जहाँ क्रिकेट र एथलेटिक्सका खेलाडी तथा प्रशिक्षकले वर्चस्व कायम गरेका हुन् ।
एथलेटिक्सबाट पाँच जना र क्रिकेटबाट चार जना फरक चार विधाको शीर्ष तीनमा परेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा एथलेटिक्सका चन्द्रबहादुर गुरुङ, बक्सिङका दीपक महर्जन, क्रिकेटका जगत टमाटा तथा वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका आशिफ शेख र रोहितकुमार पौडेल र एथलेटिक्सका दीपक अधिकारी शीर्ष तीनभित्र पर्न सफल भएका छन् ।
वर्षको उत्कृष्ट महिला खेलाडीमा बास्केटबलकी अनुशा मल्ल, एथलेटिक्सका पुष्पा भण्डारी र राजपुरा पछाईं तथा वर्ष युवा खेलाडीमा क्रिकेटका देव खनाल, एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ शीर्ष तीनको मनोनयनमा परेका छन् ।
उत्कृष्ट तीनबाट कार्यक्रमकै दिन विजेता चयन गरिने छनोट समितिका समितिका संयोजक प्रज्वल ओलीले जानकारी दिएका छन् । यस संस्करणदेखि चार विधामा समान आठ जना मनोनयनमा समावेश गरिएको हो ।
यसअघि पाँच जना मनोनयन सार्वजनिक हुने र ती मध्येबाट अवार्डकै दिन विजेता घोषणा गर्ने गरिन्थ्यो । यद्यपि, यस संस्करणबाट अवार्ड आयोजनाको केही दिन अगाडि नै शीर्ष तीनको मनोनयन सार्वजनिक गर्न थालिएको हो । पल्सर स्पोर्ट्स अवार्डमा प्रदान गरिने ९ विधामध्ये पाँच विधाको मनोनयन कार्यक्रमअघि नै सार्वजनिक हुने परम्परा छ ।
पिपल्स च्वाइस विधामा भने पाँच मनोनयन नै यथावत् र तीमध्येबाट अवार्डकै दिन विजेता घोषणा हुनेछ । मञ्चका महासचिवसमेत रहेको खेलाडी छनोट समितिका संयोजक ओलीले वर्ष २०७९ मा उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा बढी खेलाडी तथा प्रशिक्षकलाई स्पोर्ट्स अवार्डमा समेट्ने उद्देश्यअनुरूप सुरुवातमा शीर्ष आठको मनोनयन गरिएको बताए ।
पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठको मनोनयनमा परेका छन् । मञ्चले पिपल्स च्वाइस विधाको भोटिङ पनि अन्तिम चरण पुगेको जनाएको छ । स्पोर्ट्स अवार्डका अन्य विधामा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने माघ २८ गते कार्यक्रमकै दिन हुनेछ ।
यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् । त्यसमध्ये दुईवटा एन २५० र तीनवटा एन १६० मोटरसाइकल रहेको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र बिमा पोलिसि प्रदान गरिनेछ ।
Comments are closed.