पशुपतिको ३१ रोपनी जग्गा अपचलनमा पर्यटनमन्त्रीको वैधता

पशुपति मन्दिर हिन्दुहरूको आस्थाको धरोहर हो। पशुपतिको दर्शन गरे पुण्य लाभ हुने धार्मिक विश्वास छ । तर त्यही पशुपति मन्दिरमा कहिले सुन, पैसा भएको घ्याम्पो हराउँछ त कहिले पशुपतिको गर्भगृहमा सुनको जलहरी लगाउँदा पित्तल मिसाएको घटनाले चर्चा पाउँछ ।
पछिल्लोपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति विकास कोषको अतिक्रमण गरिएको ३१ रोपनी जग्गालाई वैधता दिने निर्णय गरेका छन् । उक्त जग्गाको बजारमूल्य अर्बौ पर्ने बताइन्छ ।
अपचलन भएको कोषका नाममा रहेको कागेश्वरी मनोहरा नगरपालिमा पर्ने साबिक गोठाटारमा रहेको ५३५ रोपनी ३ आना जमिनमध्ये ३१ रोपनी जमिन अतिक्रमण भएको अध्ययनमा देखिँदादेखिँदै जग्गा खोजी नगरी किरातीले हालसाविक गर्ने निर्णय गरेका हुन् ।
अतिक्रमण गरेको जमिन खोजेर फिर्ता ल्याउनुपर्नेमा पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका पर्यटनमन्त्री किरातीले त्यसलाई हालसाविक गर्ने निर्णय गरे पछि आलोचना भएको छ । त्यसमा कोषका सदस्य सचिव मिलनकुमार थापाको पनि मिलेमतो देखिएको छ ।
यसअधिका पर्यटनमन्त्री प्रेम आलेले हालसाविक गर्न नमानेको जमिनलाई अहिलेका पर्यटनमन्त्री किरातीले शंकास्पद ढंगले हालसाविक गर्ने निर्णय गरेको आरोप लागेको छ । मन्त्री किरातीले नापीको विवरणअनुसार अतिक्रमण भएको बाहेक ५०४ रोपनी ३ आना मात्र जमिन सबै प्रकारका कैफियत हटाई हालसाविक गरी पठाइदिन अनुरोध गर्दै मालपोत कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेका छन्।

Comments are closed.