काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले पुरानो गठबन्धनले देश र जनताको लागि काम गर्न नसकेको कारण नयाँ गठबन्धन बनाउनु परेको बताउनुभएको छ ।
जनतालाई राहत दिने गरी काम गरौँ भन्दा अर्थ मन्त्री र कांग्रेसका नेता नै तयार नभएको कारण गठबन्धन फेर्नु परेको भुसालले बताउनुभयो । ‘जनतालाई अलि बढी राहत हुने काम गरौँ, त्यही ढङ्गले बजेट निर्माण गरौँ, आर्थिक स्रोत जुटाऊँ, कार्यक्रमहरू थप्दै जाऊँ र आर्थिक गतिविधि बढाऊँ भन्दा अर्थ सम्हालेको मन्त्रीले मान्दैनन्, मन्त्री फेरौँ भन्दा नेताले मान्दैनन्, यो ढङ्गले काम गरेर त हुन्न भन्ने जस्तो पुगेको बेलामा नयाँ गठबन्धन बन्यो’, उहाँले भन्नुभयो ।
शुक्रबार अखिल नेपाल महिला संघ क्रान्तिकारीले १ सय १४ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै भुसालले नयाँ गठबन्धन पनि सुद्ध नभएको दाबी पनि गर्नुभयो । ‘त्यो पनि सुद्ध छैन, जीवन, व्यवहारले पुष्टि गर्छ, केही मान्छे त विवादित छन् नि, तर पनि फेरी हाम्रो सङ्ख्या त पुग्दैन, गठबन्धन गर्नुपर्छ, बहुमत पुर्याउनु पर्छ, यो बाध्यता त हुन्छ, तर त्यहाँ पनि कुनै गल्ती कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धनको सरकार भएको छ, यसले राजनीतिमा राष्ट्रिय मात्र होइन अन्ताराष्ट्रिय रूपमा पनि एउटा हलचल ल्याएको छ’, उहाँले भन्नुभयो ।
अहिलेको गठबन्धन कुनै देशी विदेशी शक्तिले नभई नितान्त गठबन्धनका दल बसेर बनाएको उहाँले दाबी गर्नुभयो । ‘गठबन्धनबाट आउने पनि केही दललाई त अझ नराखेर, फकाउँदा फकाउँदा टाइम लाग्यो, बल्ल हिजो सफल भयो, कतिपय दललाई त बोलाइएको थिएन, त्यही भएर भड्किएर, त्यही भएर बिग्रिन्छ कि भनेर’, उहाँले भन्नुभयो ।
भुसालले अहिलेको सरकार नयाँ सरकार नभएर पुरानै सरकारको पुनर्गठन भएको पनि बताउनुभयो । पुरानै सरकार नयाँ संकल्पका साथ काम गर्ने गरी पुनर्गठन भएको उहाँको भनाइ छ । बाहिर सुशासन कुरा गरे पनि आफ्नै मन्त्रीहरू झण्डावाला गाडी चढेर अख्तियार धाएको विडम्बनापूर्ण स्थिति पुरानो गठबन्धनमा भोग्नु परेको भुसालले बताउनुभयो ।
कामको गति अगाडि बढाएर केही निष्कर्ष देखिने सोचका साथ नयाँ गठबन्धन बनेको उहाँले दाबी गर्नुभयो । जनताले जीवन र व्यवहारमा सुशासनको अनुभूत गर्ने, आर्थिक परिवर्तनका अनुभूति गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारमा केही नयाँपन आउने गरी काम गर्ने सङ्कल्पसाथ नयाँ गठबन्धन बनाइएको उहाँले बताउनुभयो । ‘त्यो नहुँदासम्म यहीँ बस्ने, यहीँ टिक्ने भन्ने पनि हुन्न’ भुसालले भन्नुभयो ।
पहिलाको भन्दा अहिलेको गठबन्धन बढी सजातीय भएको उहाँले बताउनुभयो । वामपन्थीहरूको बाहुल्यता रहेको कारण यो गठबन्धनले सर्वहारा, श्रमिक, श्रमजीवी जनताको हितमा काम गर्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
भुसालले ढिलो चाँडो नेपालका कम्युनिष्टहरू एक भएर अघि बढ्नु पर्ने पनि बताउनुभयो । नत्र भारतको पश्चिमबंगालको जस्तो नियति नेपालका कम्युनिष्टले भोग्नु पर्ने उहाँको धारणा छ । ‘दीर्घकालमा एउटै देशमा दुईवटा कम्युनिष्ट पार्टी समानान्तर ढङ्गले जान सक्दैनन्, जनताले एमाले, माओवादी, माधव नेपाल र अर्कोलाई पनि कम्युनिस्ट देख्छ, हामी पनि भोट माग्ने, उनीहरू पनि भोट माग्ने, छरिएर जानो हो भने पश्चिम बङ्गालको जस्तो हुन्छ ३५ वर्ष कम्युनिष्ट पार्टीले सरकार चलाए आज शून्य छ’, उहाँले भन्नुभयो ।
ढिलो चाँडो देशमा वामपन्थीको एउटा धार र प्रजातान्त्रिक पक्षधरको एउटा बन्ने उहाँले बताउनुभयो । विगतको समीक्षा र अहिलेको आत्मसात् गर्दै वामपन्थी ध्रुवीकृत हुँदै जानु पर्ने उहाँले पष्ट पार्नुभयो । अहिलेको सहकार्यले आपसी विश्वास पैदा गर्ने र त्यसबाट मोर्चा गर्दै भविष्यमा एउटा पार्टी बनाउने भुसालको धारणा छ ।
Comments are closed.