पर्वत : पोखरामा नाटक ‘उर्वशी सूक्त’ मञ्चन सुरु भएको छ। नारी शक्तिलाई केन्द्रमा राखेर तयार भएको नाटक पोखरा थिएटरको प्रस्तुतिमा मञ्चन भएको हो।
नाटकको लेखन तथा निर्देशन शिव सङ्कल्पले गरेका हुन्। उनले आफूले लेखेको यही नाटकबाटै निर्देशनमा समेत डेब्यू गरेका हुन्।
नाटकमा दिल प्रसाद गुरुङ, शिव सङ्कल्प, रोशन आस्तिक, सुशील बराल, रोशन पोख्रेल, रमेश बाबु तिमल्सिना, दीप्सना विश्वकर्मा, रञ्जु दाहाल, एलिजा बुढाथोकी, धनकाजी श्रेष्ठ, अनुषा परियार, प्रियङ्का खड्का, राजेन्द्र अधिकारी र प्रतीक घिमिरेको अभिनय हेर्न पाइन्छ।
मिलन गिरी, देवेन्द्र ढकाल विवेक, खेम लामाको प्रत्यक्ष सङ्गीत नाटकमा रहने छ भने यो पाटोलाई थप आकर्षक बनाउन सोनिया कार्की खत्री र पासाङ ल्यामू शेर्पाले मेहनत गरेका छन्।
नाटकमा शास्त्रीय सङ्गीत, शास्त्रीय नृत्य, केही शास्त्रीय छन्दको प्रयोग गरिएको छ। भेसभुसामा समेत सांस्कृतिक र शास्त्रीयताको समिश्रण देखाउन खोजेको निर्देशक सङ्कल्पले बताए। यो नाटकबाट पूर्वीय र परम्परागत नाट्य शैलीको झलक दिन खोजिएको छ। करिब डेढ घण्टा अवधिको नाटक हेर्न सर्वसाधारणले ५०० र ३०० रुपैयाँको टिकट काट्नुपर्ने छ। विद्यार्थीले भने २०० रुपैयाँ मात्र तिरे पुग्छ।
नाटक पोखरा थिएटरको गन्धर्व नाटक घरमा वैशाख ११ गतेसम्म मञ्चन हुने छ। सोमबारबाहेक हरेक दिन साँझ पाँच बजे मञ्चन हुने जानकारी दिइएको छ।
शनिवार अतिरिक्त सो दिउँसो १ बजे पनि हुने छ। विद्यार्थीलाई लक्ष्य गरी सोमबार दिउँसो २ बजे नाटक मञ्चन हुने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए।
Comments are closed.