प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा संवैधानिक परिषद्काे बैठक आह्वान

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । उनले यही चैत्र १८ गते आइतबार बिहान बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री दाहालले यसअघि आज बिहान प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवासँग संक्रमणकालीन न्याय, संघीय संसद्लाई सहजरूपमा सञ्चालन गर्नेलगायतका समयसामयिक विषयमा छलफल भएको थियो ।
उक्त छलफललगत्तै प्रधानमन्त्री दाहालले परिषद्को बैठक आह्वान गरेका हुन् । संवैधानिक परिषद्को बैठक यसअघि चैत १२ गतेका लागि तय भएको भए पनि उक्त बैठक स्थगित भएको थियो ।
उक्त बैठकमा छलफलका क्रममा देउवाले राष्ट्रिय मुद्दामा मिलेर अगाडि बढ्नुपर्ने बताएका थिए । प्रधानमन्त्रीले राखेको उक्त प्रस्तावमा देउवा सकारात्मक देखिएका हुन् ।
प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ । सोही अनुसार प्रधानमन्त्री दाहालले बैठक आह्वान गरेका हुन् ।

Comments are closed.