रुपन्देही । ट्रक र डेडिकेटेड लाइन प्रयोग गरेर लामो समय महसुल भुक्तानी नगरेको भन्दै विद्युत काटिएका रुपन्देहीका उद्योगीहरु आन्दोलनमा उत्रिएका छन् । निःशर्त विद्युत जडानको माग गर्दै सिद्धार्थ राजमार्ग कोरिडोरका उद्योगीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आफूहरुको विद्युत लाइन जडान नगरिएसम्म आन्दोलन गर्ने जनाएका छन् ।
आन्दोलनअन्तर्गत आइतबार उद्योगीहरुले नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र अगाडि धर्ना दिएका छन् । बुटवल-भैरहवा औद्योगिक सिद्धार्थ राजमार्ग कोरिडोरमा सञ्चालित १९ वटा उद्योगको विद्युत लाइन काटेको थियो । उद्योगीहरुले प्राधिकरणको ट्रकलाइनको ‘छुट बील’ न्यायसंगत नरहेको र त्यसविरुद्ध कानूनी बाटो अवलम्बन गरिएको बताए ।
उद्योग र विद्युत प्राधिकरणबीचको विवाद उच्च अदालत तुलसीपुर बुटवल इजलासमा हाल विचाराधीन रहेकै अवस्थामा तिर्नै नपर्ने रकम असुल गर्न उद्योगहरुको विद्युत लाइन काटेको उद्योगीहरुको आरोप छ । उद्योगीले अदालतको फैसला नआउञ्जेल लाइन जडान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले ट्रक र डेडिकेटेड लाइन प्रयोग नगरेका उद्योगलाई पनि महसुल बुझाउन पत्र पठाएकाले आन्दोलनमा उत्रिनुपरेको बताए
प्राधिकरणले विद्युत प्रयोग गरेको प्रमाण उपलब्ध गराए शुल्क तिर्न तयार रहेको तर, प्रयोग नगरिएको विद्युतको शुल्क तिर्न नसकिने उनले बताए । उनले उद्योगीहरुको आन्दोलनमा सिद्धार्थ उद्योग वाणिज्य संघको ऐक्यवद्धता रहेको बताए ।
प्राधिकरणले लाइन काटेपछि उद्योगसँग जोडिएका ढुवानी व्यवसायीहरुसमेत प्रभावित भएका छन् । उद्योग बन्द हुँदा पाल्पा तथा रुपन्देहीका टिप्पर व्यवसायीहरुले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् ।
पाल्पाको तिनाउ तथा रैनादेवी छहराका चुनखानीबाट ढुवानी गर्ने ३०० टिपर बन्द गरेर बस्नु परेको व्यवसायी तोया लम्सालले बताए । तमन्ना मल्टिप्रपोज कम्पनी प्रालिका सञ्चालक लम्सालका अनुसार रुपन्देहीको सर्वोत्तम सिमेन्ट उद्योगमा चुनढुङ्गा ढुवानी गर्ने टिपरहरु उद्योग बन्द भएदेखि गुडेका छैनन् ।
पाल्पाका ५ दर्जन व्यवसायी, टिपर चालक/सहचालक तथा खानीमा रहेका कामदार गरी ७०० बढी मजदुरको रोजीरोटी खोसिएको लम्सालले गुनासो गरे । उनले दैनिक लाखौंको क्षति व्यहोर्नुपरेको उनले बताए ।
भारतमा निर्यात गर्दै आएको सर्वोत्तम सिमेन्टले लाइन काटिएपछि आफूसँग जोडिएका ३ हजार बढी व्यवसायी तथा मजदुर मर्कामा परेको बताएको छ । कम्पनीका उपमहाप्रवन्धक नेत्र घिमिरेका अनुसार दैनिक ३ हजार टन क्लिङ्कर तथा ३ हजार टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योगमा लाइन काटिँदा सरकारले समेत दैनिक ५० लाख बढी राजस्व गुमाइरहेको बताए ।
प्राधिकरणले जानकारीविना नै लाइन काटेको उनको गुनासो छ ।
अर्घाखाँची सिमेन्ट उद्योगले पनि सरकारले विद्युत कटौती गरेपछि करिब ४०० जना प्रत्यक्ष रोजगारीमा रहेका कर्मचारीलाई बिदामा राख्नुपरेको बताएको छ । उद्योगसँग जोडिएका ढुवानी व्यवसायी तथा अन्य गरी थप एक हजार बढीले रोजगारी गुमाउनु परेको कम्पनीका चिफ फाइनान्सिएल अफिसर राजु पौडेलले बताए ।
उद्योग बन्द हुँदा सरकारलाई दैनिक ५० लाख राजस्व घाटा लाग्नुका साथै भारत निर्यातबाट हुने आर्थिक लाभ गुमेको उनले बताए ।
बक्यौता रकम नतिरेका ६१ उद्योगमध्ये प्राधिकरणले हालसम्म ९ वटाको मात्रै लाइन काटेको छ । लाइन काटिएको अधिकांश उद्योगले कामदार कटौती गर्न थालेका छन् ।
विद्युत प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोगको बक्यौता नतिर्ने ४ ठूला लाइन काटेको थियो । जसमा जगदम्बा स्टिलले ४ अर्ब १४ करोड, घोराही सिमेन्टले १ अर्ब ३६ करोड, रिलायन्स स्पिनिङ मिल्सले १ अर्ब ९४ करोड र अर्घाखाँची सिमेन्टले १ अर्ब ३० करोड बक्यौता तिर्न बाँकी रहेको छ ।
त्यस्तै सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल प्रालि र त्रिवेणी स्पिनिङ मिल्सको बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काटेको हो ।
लक्ष्मी स्टिलले ७४ करोड १० लाख, सर्वोत्तम सिमेन्टले ६८ करोड ९० लाख, अशोक स्टिलले ७४ करोड ५० लाख, सोनापुर मिनरल्स एण्ड आयलले ६१ करोड २० लाख र त्रिवेणी स्पिनिङ मिल्सले ८६ करोड ९० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । ९ वटा उद्योगले ११ अर्बभन्दा धेरै बक्यौता तिर्न बाँकी छ । ६१ वटा उद्योगले समयमै महसुल नतिरेको र जरिवानासहित २५ अर्ब बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।
Comments are closed.