नेपालगन्ज । मध्य माघ लाग्दा समेत चिसो घट्नुको साटो झन बढेपछि बाँकेको जनजीवन थप कष्टकर बनेको छ ।
एक महिनादेखि चलेको शीतलहरसँगै चिसो अत्याधिक बढेपछि बाँकेको जनजीवन अझ कष्टकर बनेको हो । तापक्रम निरन्तर घट्दै जाँदा चिसो बढेर जनजीवन कष्टकर बनेको हो ।
नेपालगन्जमा आज चिसो झन बढी महसुस गरिएको छ । नेपालगन्जको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १४.३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान रहेको जल तथा मौसम फिल्ड कार्यालय कोहलपुरले जनाएको छ ।
दिनैभर चल्ने शीतलहरले तापक्रम निकै घटेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ भने सडकमा सवारीसाधन कम चलेका छन् । अत्याधिक चिसोले गर्दा दैनिक ज्यालादारीमा काम गर्नेहरू बढी मारमा परेका छन् । चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब, असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।
चिसोकै कारण दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका छन् ।
चिसोले भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी बढेको भेरी अस्पतालका सूचना अधिकारी एवम् फिजिसियन डा।सङ्केत रिसालले बताउनुभयो ।
भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेजलगायतका अस्पतालमा बिरामी भरिभराउ छन् । दिनदिनै चिसो बढिरहेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् ।
Comments are closed.