एजेन्सी । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
शनिबार दिल्लीको कश्मीरी गेटस्थित निगमबोध घाटमा सिंहकाे राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । शिख रीतिरिवाजअनुसार उहाँको अन्त्येष्टि गरिएको हो ।
निगमबोध घाटमा राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, केन्द्रीय मन्त्री जेपी नड्डा र उपराष्ट्रपति जगदीप धनखर, रक्षामन्त्री राजनाथ सिंह र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, लोकसभामा विपक्षी नेता राहुल गान्धी, कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी लगायतले पूर्व प्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे थियाे । निगमबोध घाटमा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले पनि उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे थियाे ।
पूर्व प्रधानमन्त्री सिंहको पार्थिव शरीरलाई शनिबार बिहान उहाँको निवासबाट श्रद्धाञ्जलीका लागि दिल्लीस्थित अल इण्डिया कंग्रेस कमिटी (एआईसीसी) को मुख्यालय लगिएको थियो ।
९२ वर्षीय सिंहको बिहीबार राति नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) अस्पतालमा निधन भएको थियाे । भारत सरकारले उहाँकाे निधनकाे शाेकमा ७ दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।
उहाँ सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतकाे प्रधानमन्त्री बन्नुभएकाे थियाे । सन् २००४ को आमनिर्वाचनपछि भारतको प्रधानमन्त्री नियुक्त भएका सिंह त्यसपछि २००९ मा दोस्रोपटक प्रधानमन्त्री बन्नुभएकाे थियाे । उहाँ २०१४ सम्म प्रधानमन्त्री पदमा रहनुभएकाे थियाे ।
सिंहलाई सन् १९८७ मा पद्म विभूषणबाट सम्मान गरिएको थियो । सिंह सन् १९९१ देखि १९९६ सम्म भारतकाे अर्थमन्त्री हुनुहुन्थ्याे । त्यस क्रममा उहाँले आर्थिक सुधार कार्यक्रम लागू गरेर भारतलाई तत्कालीन आर्थिक संकटबाट बाहिर निकाल्नुभएकाे थियाे ।
Comments are closed.