काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मङ्सिर ३० गतेभित्र नागरिक सरकार गठन गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सरकार चलाउने घोषणा गरेका छन् ।
आइतबार पत्रकार सम्मेलन गरी अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईँले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताए । उनले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने बताए ।
‘वैदिक सनातन सापेक्ष मुलुक बनाई देसमा शान्ति र अक्षूण राख्न राजसंस्थाको मुद्दालाई थप स्थापित गराउनेछौ । २०८० साल फागुन १ गते मेचीमा बालेको दियो काठमाडौँको वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र बनाई यो जनविद्रोह सशक्त बनाउँदै व्यवस्था परिवर्तनका लागि मूर्त रूप दिनेछौ’, पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति वाचन गर्दै प्रसाईंले भने, ‘र फागुन १ गतेदेखि व्यवस्था परिवर्तनका लागि आजैबाट स्वदेश तथा विदेशमा रहेका दाजुभाइ दिदीबहिनीलाई सहयोगका लागि अपिल गर्दैछौँ ।’
उनले अभियानका मुख्य माग समेत पढेर सुनाएका छन् । जसमा बैंक तथा लघुवित्त र बीमा कम्पनी राष्ट्रियकरण गर्ने, निक्षेपको जिम्मा सरकारले लिनुपर्ने र अति विपन्न गरिबको २० लाख ऋण मिनाहा गर्नुपर्ने तथा धितो फिर्ता गर्नुपर्ने रहेका छन् ।
Comments are closed.