काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले राजेन्द्र महतोले पार्टी परित्याग गरेको भन्दै पार्टीबाट स्वतः निष्काषित भएको बताउनुभएको छ ।बिहीबार पार्टीले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले पार्टीका पूर्वनेता राजेन्द्र महतोले पार्टी छोडेर गएको भन्दै उनी स्वतः निष्काषित भएको बताउनुभएको हो ।
अध्यक्ष ठाकुरले पार्टीमा चित्त नबुझेर महतो निस्किएको भन्दै महतोले पार्टी छोड्दा आफूहरुलाई हित नै हुने बताउनुभयो । उहाँले महतोले मधेसको मात्रै कुरा नगरेको भन्दै यसले उनैलाई प्रभाव पार्ने बताउनुभयो । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ठाकुरले प्रदेश सरकारलाई संघको दृष्टिले हेर्नु नहुने भन्दै मधेस प्रदेश सरकारमा पार्टी सहभागि भएको बताउनुभयो ।
लोसपाको केन्द्रिय समितिको बैठकले सरकारले भारतसँग गरेको विद्युत व्यापार सम्झौताले मुलुकलाई व्यापक हित भएको निष्कर्ष निकाल्दै सो सम्झौताको स्वागत गरेको छ । त्यस्तै भारतले नेपालको पूर्वाधार विकासमा दिँदै आएको अनुदानलाई ५ करोड रुपैयाँबाट बढाएर २० करोड रुपैयाँ पु¥याएकोमा पनि सो निर्णयलाई लोसपाले स्वागत गरेको पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनालले जानकारी दिनुभयो । त्यस्तै, बैठकले बिआरआई सम्झौता नेपालको हितमा नभएको ठहर गरेको पनि उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, लोसपाले नागरिकता समस्या समाधान गर्न सरकार समक्ष माग गरेको छ । बैठकले मधेश आन्दोलनमा सहभागि नेता, कार्यकर्ताहरुलाई राजनीतिक पूर्वाग्रह अनुसार बन्दी बनाइएको भन्दै त्यसको कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय पनि गरेको । बैठकले विगतदेखि अहिलेसम्म सबै लाभको पदमा बसेका राजनीतिकर्मी, उच्च पदस्थ पदाधिकारी, अन्यको सम्पती जाँचबुझ गर्न सरकारसँग जोडदार माग गरेको वरिष्ठ उपाध्यक्ष सोनालले जानकारी दिनुभयो । पार्टीको विधान अधिवेशन ६ महिनाभित्र र एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने निर्णय समेत गरेको उहाँले जानकारी दिनुभयो ।
Comments are closed.