राष्ट्रिय भूमि आयोग फेरि गठन हुन्छ : मन्त्री शर्मा

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय भूमि आयाेग फेरि गठन हुने बताउनुभएकाे छ

मन्त्रिपरिषद्‍का निर्णय सार्वजनिक गर्न शुक्रबार मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्री शर्माले भूमि आयाेग चाँडै गठन हुने बताउनुभयाे ।

अर्काे आयाेग गठन गर्नेगरी बिहीबारको मन्त्रिपरिषद् बैठकले भूमि आयोग विघटन गरेको उहाँले बताउनुभयाे । भूमि आयाेग सदाका लागि विघटन नगरिएकाे प्रष्ट पार्दै मन्त्री शर्माले गठन आदेश र नियमावलीमा भएको व्यवस्थाअनुसार सिधै आयोग पुनर्गठन गर्न नमिल्ने भएकाले विघटन गरिएकाे बताउनुभयाे ।

सम्भवतः अर्को बैठकबाट एक साताभित्र भूमि आयोग फेरि गठन हुने उहाँले बताउनुभयाे । ‘त्यहाँ भएकाे गठन आदेश, हाम्राे नियमावलीमा भएको व्यवस्थाअनुसार यो सिधै पुनर्गठन गर्ने टाइपको हुँदो रहेनछ, त्यसकारणले गर्दा भूमि आयोग फेरि तुरुन्तै गठन हुन्छ, एकसाताकाे बीचमा सम्भवतः अर्को क्याबिनेट बैठकबाट गठन हुन्छ, भूमि आयाेगलाई सदाका लागि विघटन गरिएकाे हाेइन, अर्काे गठन गर्न विघटन गर्नुपर्ने कानुनी व्यवस्थाले विघटन गरिएकाे हाे’- मन्त्री शर्माले भन्नुभयाे ।सुकुम्बासी समस्या समाधान गर्ने र यससँग सम्बन्धित काम अब बन्ने आयाेगले गर्ने उहाँले बताउनुभयाे ।

Comments are closed.