राष्ट्रिय सभा अध्यक्ष: माओवादीबाट दाहाल र कांग्रेसबाट शर्मा उम्मेदवार बन्ने

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले उम्मेदवार तय गरेका छन् ।माओवादीका तर्फबाट राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल उम्मेदवार बन्ने पक्का भएका छन् । यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको छ ।माओवादी पदाधिकारी बैठकले दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालका भाइसमेत हुन् । उनको कार्यकाल चार वर्षको रहेको छ । २०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए । सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् ।चितवन स्थायी ठेगाना भएका दाहाल २०३१ सालदेखि राजनीतिक दलमा सक्रिय रहेको संघीय संसद् सचिवालयले प्रकाशित गरेको ‘संघीय संसद् सदस्य विवरण, २०८०’ पुस्तकमा उल्लेख छ । त्यसअघि उनी २०२७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय थिए । उनी २०५७ सालदेखि माओवादी केन्द्रीय सदस्य छन् ।
माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा लगायतको सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने सहमति भएको थियो । उपाध्यक्षमा नेकपा एमालेको उम्मेदवार बन्ने सहमति छ ।यसैबीच राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेसले युवराज शर्मालाई अघि सार्ने भएको छ । सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा आइतबार साँझ बसेको संसदीय दल कार्यसमिति बैठकले शर्मालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए ।
बाँकेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् । उनी ०४५ सालमै पार्टीको बाँके सभापति भएर काम गरेका थिए । ०२८ सालमा देउवा नेविसंघको सभापति हुँदा शर्मा उपाध्यक्ष थिए ।राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै उक्त पद रिक्त छ । राष्ट्रिय सभा अध्यक्ष चुनावका लागि भोलि (सोमबार) मनोनयन दर्ताको कार्यक्रम छ भने पर्सि (मंगलबार) मतदान हुनेछ । राष्ट्रिय सभामा कांग्रेसका १६ जना सांसद छन् ।यसैबीच राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि भोलि (सोमबार) मनोनयन दर्ता हुने भएको छ । आज (आइतबार) बिहान बसेको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठकले भोलि मनोनयन दर्ता गर्ने गरी निर्वाचनको मिति तय गरेको हो । बैठकले अध्यक्षको निर्वाचन सार्ने कांग्रेसको प्रस्ताव भने अस्वीकृत गरेको छ ।
बैठकमा राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले केही दिन निर्वाचन सार्ने प्रस्ताव राखेकामा अन्य दल मानेका थिएनन् । राष्ट्रिय सभाको आजै बसेको बैठकमा अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचनका लागि फागुन २९ गतेको मिति तोकेकी हुन् ।उनले निर्वाचनसम्बन्धी सूचना प्रकाशित गर्न संसद्‌का महासचिवलाई निर्देशनसमेत दिएकी छन् । वर्तमान सत्ता गठबन्धन दलले राष्ट्रिय सभा अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमाले उम्मेदवार उठाउने सहमति गरेका छन् ।

Comments are closed.