काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दललाई सहमतिमा ल्याइ राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु नै अहिलेको प्रमुख काम भएको बताएका छन् ।
शनिवार रिपोर्टस क्लवको २६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले सबै राजनीतिक दलहरुलाई एक ठाउँमा ल्याइ सहमतिकै आधारमा काम गरिरहेको जिकिर गरे ।
उनले नेपाललाई अहिले सुशासन र समृद्धि आवश्यक रहेको भन्दै मुलुकमा अहिले राष्ट्रिय समझदारी बनाउन नसके निकै अफ्ठ्यारो स्थितिको सामना गर्नुपर्ने बताए ।
उनले शान्ति प्रक्रियासँग सम्बन्धित काम र संवैधानिक परिषद्सँग सम्बन्धित विषयमा छलफल गर्न लागेको पनि बताए ।
उनले भने– ‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन एकातिर केपी ओली, अर्कोतिर शेरबहादुर देउवा राखेर सहमति बनाउनुस् भन्नुभयो । नभन्दै आज अहिले एकातिर शेरबहादुर जी र अर्कोतिर केपी ओलीजी बस्दैछौँ । हामी अहिलेको शान्ति प्रक्रियासँग सम्बन्धित पनि र संवैधानिक परिषद्सँग सम्बन्धित विषयमा पनि गम्भीर छलफल गर्दैछौँ । मेरो कोशिस सकेसम्म सबै राजनीतिक दल सबैलाई सहमतिमा ल्याएर एउटा राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु नै हो । हुनत नेपाली काँग्रेससँग नजिक हुँदा र कहिले नेकपा एमालेसँग नजिक हुँदा नेता साथीहरुलाई नमिठो लागेकै छ । हामीले सहमतिकै आधारमा काम गरिरहेका छौँ । राष्ट्रिय सहमतिको वातावरण बनाउने किसिमले नै हामीले पहल गरेका छौँ । त्यसको एउटा वातावरण बनिरहेको पनि छ । हामीलाई यति बेला चाहिएको भनेको सुशासन र समृद्धि हो । हामीले त्यसको निम्ति राष्ट्रिय समझदारी बनाउन नसके निकै अफ्ठ्यारो स्थितिको सामना गर्नुपर्छ, नेपाल र नेपालीले ।’
प्रधानमन्त्री दाहालले आजको प्रमुख राजनीतिक कार्यभार प्राप्त राजनीतिक अधिकार सुनिश्चित र सुदृढ गर्दै संविधानको प्रगतिशिल कार्यान्वयन सुनिश्चित गरी त्यसको जगमा आर्थिक समृद्धिको दिशा लिनु रहेको बताए ।
Comments are closed.