रूसी सेनामा कार्यरत अर्का एक नेपाली नागरिककाे ज्यान गयाे

काठमाडाैं । रूसी सेनामा कार्यरत अर्का एक जना नेपाली नागरिकको ज्यान गएकाे छ ।

रूसी सेनामा कार्यरत नेपाली नागरिक कुन्दनसिंह नागलकाे ज्यान गएकाे परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

याेसँगै रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने नेपालीकाे संख्या ७ पुगेकाे छ । यसअघि गोरखाका सन्दीप थपलिया, कपिलवस्तुको वाणगंगा नगरपालिका-१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जाकाे पुतलीबजार नगरपालिका-५ का पितम कार्की, दोलखाको मेलुङ गाउँपालिका-६ का राजकुमार रोका र इलामका गंगाराज मोक्तानकाे ज्यान गएकाे थियाे ।

नेपालका लागि रूसका राजदूतमार्फत रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनःअनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।

नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपालीलाई तत्काल नेपाल फर्काउन रूसी राजदूतमार्फत रूसी सरकारलाई पुनःअनुरोध गरिएकाे पनि मन्त्रालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । ‘रूसी सेनामा भर्ना भएका नेपाली नागरिकको संख्या, घाइतेकाे संख्या तथा उनीहरूको अवस्थाका बारेमा यथाशीघ्र जानकारी गराउन अनुरोध गरिएको छ, सरकारी कामकाज, रूसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरूलाई रूस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तरगतको कन्सुलर सेवा विभागबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर मात्र यात्रा गर्न सकिने व्यवस्था गरिएकोमा सो व्यवस्थालाई विस्तार गरी भारत, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत, कतार र बहराइनबाट समेत रूस यात्रा गर्नु परेमा तत् तत् देशमा रहेका नेपाली राजदूतावास तथा महावाणिज्यदूतावासहरूबाट जारी गरिने एनओसी लिएर मात्र यात्रा गर्नुहुन सर्वसाधारणमा यो मन्त्रालय हार्दिक अपिल गर्दछ’-विज्ञप्तिमा भनिएको छ ।

यस्तै युक्रेनमा ४ जना नेपालीलाई बन्दी बनाइएकाे पनि परराष्ट्र मन्त्रालयले जनाएकाे छ । बर्दियाकाे राजापुर-१ का विवेक खत्री, काभ्रेपलाञ्चोककाे मण्डनदेउपुर नगरपालिका-६, का सिद्धार्थ ढकाल, लेटाङ-२, मोरङका विकास राई र रून्तिगढी-८ रोल्पाका प्रतीक पुनलाई युक्रेनमा बन्दी बनाइएको विषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

बन्दी बनाइएकाहरूलाई शीघ्र रिहा गरी नेपाल फिर्ता पठाउन युक्रेन सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको परराष्ट्र मन्त्रालयले जनाएकाे छ । बन्दी बनाइएका ४ जनाकाे रिहाइ र नेपाल फिर्तीका लागि अन्तर्राष्ट्रिय कमिटी अफ रेडक्रस लगायत अन्य माध्यमबाट पनि कूटनीतिक प्रयास भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

Comments are closed.