लक्ष्मी कोइरीको निलम्बन फुकुवा

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ ।संघीय संसद्‌का कार्यवाहक महासचिव पद्यप्रसाद पाण्डेयद्वारा आइतबार जारी सूचनामा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम (५) बमोजिम निलम्बन फुकुवा भएको जनाइएको छ ।
कोइरी १९ वैशाख २०८० मा निलम्बनमा परेका थिए । २०७७ मा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या अभियोग लागेका फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरी ४ मंसिर २०७९ मा भएको चुनावमा महोत्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
निर्वाचित भएपछि प्रतिनिधिसभाका केही बैठकमा उपस्थित भएका कोइरी फरारको सूचीमा रहेको भनी प्रश्न उठेपछि पुन: सम्पर्कविहीन भएका थिए ।प्रहरी प्रधान कार्यालयको पत्रका आधारमा निलम्बनमा परेका कोइरीले २९ मंसिरमा जिल्ला अदालत महोतरीबाट सफाइ पाएका थिए । सफाइ पाएसँगै निलम्बन फुकुवाको निर्णय लिएर कोइरी संसद सचिवालय पुगेका थिए । सभामुख देवराज घिमिरेको निर्देशनमा उनको निलम्बन आइतबार फुकुवा भएको हो ।

Comments are closed.