संकल्प यात्रा अत्यन्त सफल भयाे, जनताकाे मनाेबल उच्च बनायाे : केपी ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अत्यन्तै सफल भएकाे बताउनुभएकाे छ ।

आइतबार पाँचथरको चिवाभञ्ज्याङमा झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको समापन गर्दै अध्यक्ष ओलीले संकल्प यात्रा असाधारण रुपमा सम्पन्न भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘यो संकल्प यात्रा महान् यात्रा हाे, जाेखिमहरुसँग खेल्ने र त्यसलाई पराजित गर्ने यात्रा हाे, एमाले चुनाैतीहरुकाे सामना गर्छ भन्ने कुराकाे द‍ृष्टान्त हाे, नेकपा एमाले अरुले साेच्न नसक्ने खालका काम गर्न सक्छ भन्ने अर्काे द‍ृष्टान्त हाे, याे महान् यात्रा अन्त्यन्तै, पूर्ण रुपमा, शतप्रतिशत सफल भएकाे छ ।’

संकल्प यात्राले अवाञ्छित चिन्तन, विचार, प्रवृत्ति र क्रियाकलापलाई हतोत्साहित गरेको अध्यक्ष ओलीले बताउनुभयाे । संकल्प यात्राले देशलाई शिरमा राखेर, जनताकाे हितलाई शिरमा राखेर, राष्ट्रिय हितलाई सर्वाेपरी राखेर अगाडि बढ्ने आम जनताकाे मनाेबल उच्च भएकाे उहाँले बताउनुभयाे । राष्ट्रलाई ध्यानमा राखेर अगाडि बढ्न संकल्प यात्राले सबैलाई प्रेरणा दिने विश्वास पनि अध्यक्ष ओलीले व्यक्त गर्नुभयाे ।

देश र देशकाे राजनीति अलपत्र अवस्थामा रहेकाे भन्दै उहाँले यस्तो अवस्थाबाट देशलाई जोगाउन संकल्प यात्राले असाधारण योगदान गरेको बताउनुभयाे । अध्यक्ष ओलीले गठबन्धनका कारण जनतामा फैलँदै गएकाे निराशालाई आशामा परिणत गर्ने काम संकल्प यात्राले गरेकाे बताउनुभयाे ।

संकल्प यात्राले जनतामा पुर्नजागरण ल्याएकाे र अरु पार्टीमा पनि प्रभाव पारेकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘राजनीतिक हिसाबले आज देशको बिग्रँदो अवस्था जो छ, जनतामा जुन निराशा फैलाउने काम अहिलेको गठबन्धनले गरेको छ, त्यसबाट जनतालाई मुक्त गर्न र आशावादिता जगाउन र यो अभियानले देशका जनतामा पुर्नजागरणको अवस्था, पुर्न सक्रियताकाे अवस्था आएकाे छ, अरु पार्टीमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ ।’

संकल्प यात्राले वैचारिक र सूचनाका हिसाबले पार्टीलाई थप मजबुत बनाएको उहाँले बताउनुभयो । मध्यपहाड विकासको योजना बनाउन संकल्प यात्राले ठूलाे सहयोग पुग्ने विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले यसले देश विकासको खाका बनाउने आधार समेत तयार गरेको बताउनुभयाे ।

अभियानको क्रममा मध्यपहाडको विशेषता, परिचय, समस्या र सम्भावना बुझ्ने मौका पाएको उहाँले बताउनुभयो । यात्रामा सहभागी पार्टी पंक्ति, नेता-कार्यकर्ता, सम्पूर्ण नेपाली जनता र सञ्चारकर्मी सबैलाई अध्यक्ष ओलीले धन्यवाद दिनुभयो ।

Comments are closed.