संविधान प्रदत्त स्वास्थ्यको अधिकार कार्यान्वयनमा सरकार क्रियाशील : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान प्रदत्त स्वास्थ्यको हकलाई कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहेको बताउनुभएको छ ।

शुक्रबार भरतपुर आँखा अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरका अस्पतालका १० प्रतिशत शय्या गरिब, विपन्न र असहाय नागरिकका लागि निःशुल्क उपलब्ध गराउने व्यवस्था, महिलामा हुने स्तन र पाठेघरको क्यान्सर विरुद्धको निःशुल्क खोप, स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, विपन्न बिरामीका लागि अनुदान व्यवस्था लगायत महत्पूर्ण निर्णय गरी सरकार त्यसको कार्यान्वयनमा क्रियाशील रहेको बताउनुभयो । संविधान अनुसार स्वास्थ्य सम्बन्धी ऐन बनाउन पनि सरकारले पहल गरिरहेको उहाँले जानकारी दिनुभयो । ‘यी सबै प्रयासले स्वास्थ्य क्षेत्रमा सुधार हुने मैले विश्वास लिएको छु’, उहाँले भन्नुभयो ।

सरकारले आउने वर्षको लागि बजेट तथा कार्यक्रम बनाउन सुरु गरेकोले स्वास्थ्य क्षेत्रको लागि सकेसम्म धेरै बजेट विनियोजन गर्ने दाहालले जानकारी दिनुभयो । भरतपुर आँखा अस्पतालको जग्गाको समस्या समाधानको लागि पनि आफूले पहल गर्ने दाहालले विश्वास दिलाउनुभयो ।

 

Comments are closed.