सन्दीपको मुद्धालाई लिएर आफ्नो चरित्रहत्या नगर्न पारसको चेतावनी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आफूलाई जोडेर चरित्रहत्या नगर्न चेतावनी दिएका छन् ।नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका खड्काले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेको मुद्दामा आफूलाई जोडेर नियोजित दुष्प्रचार गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।‘पछिल्लो केहि समययता सामाजिक संजालमा मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहिन तरिकाले ममाथि भइरहेको व्यक्तिगत आरोपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले लेखेका छन् ।आफूमाथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने उनले बताए ।
‘नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतः सन्दीप लामिछानेसँग जोडिएको मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जानेनै छ’,खड्काले भनेका छन्,‘यो सबैका बिच समेत तर्कहीन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले म माथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु ।’उनले नेपाली क्रिकेटप्रतिको आफ्नो निस्वार्थ भावना र यसको विकास, विस्तार प्रतिको मेरो अठोटमा कदापि पनि परिवर्तन नआउने पनि बताएका छन्।

Comments are closed.