काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सन् २०४५ सम्ममा नेपालले हरितगृह ग्यास उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जनवायु परिवर्तन र दिगो विकासमा सांसदको भूमिका विषयक सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
उनले नेपाली नागरिक पहिरो, बाढी, जङ्गलको डढेलो, हिउँ पहिरोको प्रकोप‚ खडेरीलगायत जलवायुजन्य प्रकोपबाट पीडित रहेको बताए। उनले नेपाललगायत जोखिममा परेका मुलुकका जनतालाई आर्थिक र प्राविधिक सहयोगको आवश्यकता रहेको बताए।
उनले एक सय बिलियन अमेरिकी डलरको जलवायु वित्त दायित्व पूरा गर्न, हरित जलवायु कोषमार्फत जलवायु कार्यहरूलाई गति दिन तथा अतिकम विकसित मुलुकको पहुँच विस्तार गर्न र त्यसको कार्यान्वयनमा जोड दिन आवश्यक रहेको पनि बताए।
‘एक सय बिलियन अमेरिकी डलरको जलवायु वित्त दायित्व पूरा गर्न, हरित जलवायु कोषमार्फत जलवायु कार्यहरूलाई गति दिन तथा अतिकम विकसित मुलुकको पहुँच विस्तार गर्न र त्यसको कार्यान्वयनमा जोड दिन चाहन्छु। नेपाल पेरिस सम्झौताप्रति पूर्ण प्रतिबद्ध छ‚’ उनले भने, ‘हामी सन् २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जन हासिल गर्न प्रतिबद्ध छौँ। जोखिममा परेका हाम्रोजस्तो मुलुकलाई आर्थिक र प्राविधिक सहयोगको आवश्यकता छ, त्यसमा संसारको ध्यान जानुपर्छ।’
प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भए पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानीकारक प्रभाव भोगिरहेको बताए। जलवायु परिवर्तन सामाजिक–आर्थिक र वातावरणीय कल्याणका लागि ठूलो चुनौती भएको बताए।
Comments are closed.