सरकारी जंगल व्यक्तिको नाममा दर्ता : ८ जना दोषी ठहर, कैद र जरिवाना तोकियो

काठमाडौं । भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ जनालाई दोषी ठहर गर्दै सजाय तोकेको छ ।मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन बहादुर स्नेही रसाइलीसहित ८ जनालाई अदालतले सोमबार दोषी ठहर गरेको हो । जसमा चार जना मुख्य अभियुक्त र चार जनालाई मतियार ठहर भएका छन् ।विशेष अदालतका अध्यक्ष टेकनारायण कुवर र न्यायाधीशहरू मुरारिबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले रसाइलीलाई १ वर्ष, मानबहादुर चन्दलाई ९ महिना, अग्निबहादुर शाही र दशरथ मण्डललाई ६–६ महिना कैदको फैसला सुनाएको छ ।
यस्तै अदालतले मतियारको रूपमा बिन्द्रा रावल, कमलबहादुर रावल, शुसिलवहादुर रावल र विमल रावललाई ६ महिना कैद हुने फैसला सुनाएको छ । दोषी ठहर भएका मध्ये बिन्द्रा रावल ज्येष्ठ नागरिक भएकाले ७५ प्रतिशत कैद कट्टा भई १ महिना १५ दिनमात्र कैद बसे हुने फैसलामा उल्लेख छ ।
कैलालीको साबिक नारायणपुर–८ अन्तर्गतको कित्ता नम्बर ९०८ को जग्गा फिल्डबुकमा जङ्गल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालयबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध २४ करोड ६ लाख ६९ हजार रुपैयाँ भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

Comments are closed.