काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत दिन सांसद्हरुलाई निर्देशन दिनुभएकाे छ ।
मंगलबार बसेकाे पार्टी संसदीय दलको बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई भाेलि विश्वासकाे मत दिन सांसद्हरुलाई निर्देशन दिनुभयाे । नयाँ समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले भाेलि बस्ने बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासकाे मत लिँदै हुनुहुन्छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत नपाए नेपाली कांग्रेसकाे नेतृत्वमा अल्पमतकाे सरकार बन्ने र देश अस्थिरतातर्फ जाने खतरा हुने उहाँले बताउनुभयाे । दील खाेलेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत दिन आग्र गर्दै अध्यक्ष ओलीले भाेलिकाे प्रतिनिधि सभा बैठकमा उपस्थित हुन सबै सांसद्लाई आग्रह गर्नुभयाे । उहाँले भन्नुभयाे – ‘भाेलि हामी सबै उपस्थित हुनेछाैं, एकदम दिल खाेलेर प्रधानमन्त्रीलाई विश्वासकाे मत दिन्छाैं ।’
अहिलेकाे गठबन्धन असफल हुनु भनेकाे देश असफलतातिर जानु भएकाे भन्दै अध्यक्ष ओलीले देश बर्बाद हुनबाट जाेगाउन याे गठबन्धन बनाइएकाे बताउनुभयाे । नयाँ समीकरण कायमै राख्ने कि अल्पमतकाे सरकार बन्न दिने भन्ने दुई विकल्प रहेकाे भन्दै उहाँले प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत दिएर देशलाई स्थिरतार्फ लैजानुपर्ने बताउनुभयाे ।
विगतमा प्रधानमन्त्रीले नराम्रो काम गरेको भए पनि अनुचित गठबन्धन छाडेर सही कदम चालेको अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘प्रधानमन्त्रीले पहिले पहिले ठूलठूला गल्ती गरेकाे हुन सक्छ, अहिले प्रधानमन्त्रीले एकदम राम्राे काम गर्नुभएकाे छ, अनुचित गठबन्धन छाेडेर उचित गठबन्धन बनाउन उहाँले पहलकदमी लिनुभएकाे छ, १-डेढ वर्षलाई उहाँकाे पद खतरामा थिएन, तर देश अप्ठ्याराेमा पर्याे भन्ने बुझेर फरक ढंगले कदम चाल्नुभएकाे छ, त्यसकारण त्यस कदमलाई इतिहासतिर मात्र हेरेर हुँदैन, अहिलेकाे अवस्थामा उहाँले चालेकाे कदम सकारात्मक छ ।’
अनुचित गठबन्धन त्यागेर नयाँ देशभक्त, प्रगतिशिल, समाजवादउन्मुख, जनमुखि समीकरण निर्माण गर्न प्रधानमन्त्रीले चालेकाे कदम स्वागतयाेग्य रहेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।
सरकारकाे आलाेचना नगर्न सांसद्हरुलाई आग्रह गर्दै उहाँले सरकारकाे आलाेचना गर्दा आन्तरिक रुपमा गर्न सकिने बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘सरकारको आलोचना गर्नुपर्यो भने आन्तरिकरूपमा गर्दा हुन्छ, कहिले–कहिले देख्दा एक चिज देखिन्छ तर चिज अर्कै भइदिन्छ, खासगरी तराईमा हिँड्दाहिँड्दै डोरीको त्यान्द्रो देख्यो भने सर्प रहेछ कि भनेर मान्छे झसङ्ग हुन्छ,अनि ठम्याएपछि सर्प हुँदैन, डोरी हुन्छ । अनि ढुक्क भएर हिँड्छ । त्यस कारण प्याट्ट बोलिहाल्दा कहिले–कहिले नराम्रो हुन्छ, त्यस्तो लाग्यो भने छलफलमा ल्याउन सकिन्छ’
कुनै पनि मन्त्रालयको काम सन्ताेषजनक नभए त्यसमा छलफल गर्न सकिने बताउँदै उहाँले भन्नुधयाे – कुनै पनि मन्त्रालयको काम सन्तोषजनक भएन भने हामी छलफल गर्न सक्छौँ । त्यसलाई सन्तोषजनक, प्रशंसायोग्य बनाउने कुरामा हाम्रो योगदान हुन्छ । यदी कसैले त्यो बनाउन चाहेन भने त्यस सम्बन्धमा फरक ढङ्गले उपचार खोज्नुपर्ने हुनसक्छ
Comments are closed.