साउदी पठाइदिन्छु भन्दै १ लाख २५ हजार ठगेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ

काठमाडाैं । वैदेशिक रोजगारीका लागि साउदी अरब पठाइदिन्छु भनी ठगी गर्ने म्यानपावर कम्पनीका सञ्चालकसहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-९ घर भइ हाल काठमाडौं बस्ने लक्ष्मण विश्वा र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१० की ४० वर्षीया सोफि मल्ल रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।

उनीहरुले ओम बाबु साहलाई वैदेशिक रोजगारीको लागि साउदी अरब पठाइदिने, त्यहाँ जान १ लाख २५ हजार रुपैयाँ लाग्ने र पुगेपछि मासिक ४० हजार तलब हुने प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै विश्वास दिलाई प्रलाेभनमा पारेका थिए । त्यसपछि उनीहरुले पीडितबाट पटकपटक गरी १ लाख २५ हजार रुपैयाँ रकम लिई सम्पर्कबिहीन भएक थिए ।

उनीहरूलाई मंसिर २२ गते काठमाडौंबाट पक्राउ गरिएकाे कार्यालयले जनाएकाे छ । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको पनि कार्यालयले जनाएकाे छ ।

Comments are closed.