सीमा क्षेत्रका सुरक्षा चुनौती आपसी सहयोग र समन्वय गर्ने निर्णय

पर्सा — नेपाल र भारतका अधिकारीहरुले आसन्न भारतको लोकसभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सीमा पार चुनौतीहरुलाई संयुक्त रुपमा समाधान गर्न आपसी सहयोग र समन्वय गर्ने निर्णय गरेका छन् । भारतको रक्सौलस्थित एकीकृत सुरक्षा जाँच चौकीमा शनिबार सम्पन्न नेपाल–भारत जिल्लास्तरीय समन्वय समितिको उच्चस्तरीय बैठकमा दुबै देशका अधिकारीहरुले यस्तो निर्णय गरेका हुन् ।
बैठकमा सहभागी भइ फर्किएका पर्साका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालका अनुसार, बैठकको मुख्य एजेन्डा भारतको आसन्न लोक सभा निर्वाचन–२०२४ रहेको थियो । दुबै देशका अधिकारीहरुले आउँदो अप्रिल–मे महिनामा सम्पन्न हुने भनिएको भारतको लोकसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सीमा पारीबाट हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न आपसी समन्वय तथा समझारी कायम भएको छ ।
त्यसैगरी, बैठकमा सीमा सुरक्षा, नक्कली नोट, हतियार, लागुऔषध, मदिरा, सूर्ती तथा अन्य अवैध बस्तुको तस्करी नियन्त्रण, क्रस बोर्डर अपराध नियन्त्रण, मस्ट वान्टेड अपराधीहरुको धरपकड, बिदेशी नागरिक र संदिग्ध व्यक्तिहरुको अवैध आवागमन एवम् अवांछित गतिविधि रोक्न आपसी सूचनाहरुको आदान प्रदान र सहयोग सम्बन्धी मुद्दामा पनि गम्भीर छलफल भएको थियो ।बैठकको संयुक्त अध्यक्षता नेपाल तर्फबाट चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा र भारततर्फ बिहार राज्यको मोतिहारी जिल्लाका जिल्ला अधिकारी सौरभ जोरवालाले गरेका थिए । बैठकमा नेपालतर्फ चितवन, पूर्वी तथा पश्चिमी नवलपरासी, पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरी गरी ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल तथा सशस्त्र प्रहरी प्रमुखहरु सहभागी थिए । भारततर्फ पनि सीमावर्ती पूर्वी तथा पश्चिमी चम्पारण र मोतिहारी जिल्ला गरी ३ जिल्लास्थित प्रशासन तथा सुरक्षा अधिकारीहरु सहभागी थिए ।प्रत्येक ३ महिनाको अन्तरालमा यसरी दुई देशीय सीमा समन्वय समितिको बैठक बस्ने गरेको छ । बैठकस्थलमा सन्चारकर्मीलाई प्रवेश नदिइएको गुनासो भारतीय सन्चारकर्मीहरुले गरेका छन् ।

Comments are closed.