सुदूरपश्चिममा एकीकृत समाजवादीलाई सघाउन कांग्रेस तयार

काठमाडौं, ६ बैशाख । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)लाई मुख्यमन्त्री दिन तयार भएको छ ।

बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच कांग्रेस नेता डा.नारायण खड्काको निवासमा भएको भेटवार्तापछि मुख्यमन्त्रीमा कांग्रेसले एकीकृत समाजवादीलाई सघाउन तयार रहेको कांग्रेस निकट स्रोतले जनाएको छ ।

देउवा र नेपालबीच पौने एक घण्टा प्रदेश सरकार निर्माणका विषयमा छलफल भएको थियो । जसमा नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी पक्षले पनि साथ दिने बुझिएको छ ।

सुदुरपश्चिमलगायत अन्य प्रदेश सरकारका विषयमा देउवाले बिहीबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा शीर्ष नेता एवम् कानुनविदहरुसँग छलफल गर्नुभएको थियो ।

सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रमुख प्रतिपक्षी दलका सभापति देउवा र सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष नेपालबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । देउवा र नेपालबीच सुदूरपश्चिम प्रदेश सरकार निर्माण साथै वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल भइरहेको हो ।

सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज बिहीबार साँझ ५ बजे सकिंदैछ ।

Comments are closed.