स्रष्टा समाजको १७ औँ साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल स्रष्टा समाजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन १७ औँ साधारण सभा सम्पन्न भएको छ । उक्त सभामा महासचिव देविका तिमिल्सिना र कोषाध्यक्ष तारा सुवेदीले प्रस्तुत गरेको साङ्गठनिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा भएको उक्त कार्यक्रममा संरक्षक पवन आलोक, पूर्व अध्यक्षहरु शैलेन्द्र साकार, चन्द्रप्रसाद भट्टराई, विधान आचार्य, सल्लाहकार रमा शर्मा र समाजका बागमती, गण्डकी र कर्णाली प्रदेशका संयोजकहरु रवीन्द्र आशिष शैली, रिता पहारी न्यौपाने र देवकी तिमिल्सिनाले मन्तव्य दिएका थिए ।

कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित समाजको १७ औँ साधारण सभामा वरिष्ठ कवि गोविन्दराज विनोदीलाई सुभद्रा विश्वराज स्रष्टा सम्मान प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि डा. अभि सुवेदीले उनलाई सम्मान गरे । वरिष्ठ कवि विधान आचार्यले आफ्ना मातापिताको नाममा स्थापना गरेको सम्मान रु २१,१११ नगद राशिसहितको छ । सोही समारोहमा समाजका पूर्व अध्यक्ष चन्द्रप्रसाद भट्टराईलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा साहित्यकार उद्धव भण्डारीको ‘अपाङ्गता आवाज’ को विमोचन गरिएको थियो ।

सो समारोहमा समाजका अध्यक्ष रोदनले आगामी वर्षदेखि रु एक लाख एक सय एक नगद राशिको ‘रेखा–पवन स्रष्टा सम्मान प्रदान गरिने जानकारी गराए । साहित्यकार पवन आलोक र धर्मपत्नी रेखा कडेलको नाममा स्थापना गरिएको उक्त सम्मानका लागि उनका सन्तान विमला कडेल, रिता कडेल, सुनील कडेल, माला कडेल र अनिता कडेलले रु १५ लाखको अक्षयकोषको व्यवस्था गरेका छन् । समाजको १७ औँ साधारण सभा तथा सम्मान समारोहमा समालोचक ज्ञानु अधिकारी, प्राडा गोविन्दमानसिँह कार्की, योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मानका संस्थापक राजेश न्यौपाने, उपाध्यक्ष चेतनाथ कणेल हरित र सचिव प्रकाश घायलले मन्तव्य व्यक्त गरेका थिए ।

Comments are closed.