१४ किलो सुन प्रकरण: सुन तस्करीमा कर्मचारीको सेटिङमा भारतीय व्यापारी संलग्न

काठमाडौं । १४ किलो सुन प्रकरणमा दुई जना भारतीय नागरिकको भूमिका मुख्य रहेको भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिए। घटनाको अनुसन्धान गर्न बनाएको छानबिन समितिले भारतीय नागरिक गुरू भनिने अर्का अंकित अग्रवालको भूमिका मुख्य रहेको देखिएको छ । दुई जनाको मिलेमतोमा दुबईदेखि काठमाडौं विमानस्थलमा रहेका कर्मचारी समेतलाई सेटिङमा मिलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिए। गत मंसिर २१ गते राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो । फ्लाई दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका चन्द्र घलेबाट सुन बरामद भएको थियो।
दुई भारतीय व्यापारी हुन् । तर पृष्ठभूमि यकिन भएको छैन,’ पाण्डेले भने, ‘त्यसबारे पनि अध्ययन गरिरहेका छौं। अहिलेसम्म पक्राउ परेकामध्ये मीनबहादुर मुख्य हुन्।’ गुरू भन्ने व्यक्ति भारतमा बसेर काम गर्ने खुलेको छ। यस्तै, अग्रवालले भने दुबईबाट सुन पठाउने गरेको खुलेको हो।घलेले कपडाको ज्याकेट बनाएर त्यसमा १४ किलो सुन लुकाएर ल्याएका थिए । उक्त सुन बरामद भएपछि कार्यालयले यस घटनाको अनुसन्धान गर्न छानबिन समिति समेत बनाएको थियो। सो प्रकरणमा विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ । पौडेलको नेतृत्व समितिमा प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना रहेका छन्।
उक्त घटनामा अहिलेसम्म समितिले १० जनालाई पक्राउ गरेको छ। मीनबहादुर घले सुन मगाउने व्यक्ति हुन्। अर्का चन्द्र घले भने भरियाको रूपमा खटाएको पाइएको छ। त्यसबाहेक एसी प्राविधिक राधाकृष्ण श्रेष्ठ, विमानस्थलकी सरसफाइ सुपरभाइजर सुशीला पाण्डे, सरसफाइ कर्मचारीहरू गणेश चेपाङ, कपिल ओझा, प्लमर शेरबहादुर बस्नेत, कामदार लेकबहादुर तामाङ, रमेश देउला र अनिल श्रेष्ठ पक्राउ परेका छन्।उनीहरू सबै जना विमानस्थलमा कार्यरत कर्मचारीहरू हुन् । दुबईमा बस्ने भारतीय नागरिक अंकित अग्रवालले चन्द्र घलेलाई सुन दिएर पठाएका थिए। त्यसरी ल्याइने सुन विमानस्थल अराइभलमा रहेको शौचालयभित्र लगेर उनी जस्ता भरियाले राख्ने गरेको अनुसन्धानबाट खुलेको छ। त्यहाँबाट सुन रहे÷नरहेको यकिन गर्न प्लमर शेरबहादुर शौचालयमा पुग्थे। त्यसपछि सरसफाइ कर्मचारी लेकबहादुर तामाङ लगायतले निकालेर एसी प्राविधिक राधाकृष्णलाई बुझाउँथे।
त्यसपछि राधाकृष्णले सुन बाहिरसम्म पु¥याउने गरेको खुलेको हो। उनीहरू कर्मचारी भएकाले सहज रूपमै सुन बाहिर निकाल्ने गरेको देखिन्छ।त्यहाँबाट सुन बाहिरिएपछि तहगत रूपमा सुन व्यापारीसम्म पुग्ने गरेको पाइएको छ। पक्राउ परेका घलेलाई यूएईबाट ल्याएको सुन अध्यागमनको शौचालयमा राख्न भनिएको थियो ।‘त्यहाँबाट छुट्टै टोलीले फोहोरका रुपमा बाहिर निकाल्ने रहेछ, यसरी पहिले पनि थुप्रै पटक सुन कटाइएको हुनसक्छ’, एक अधिकृतले भने, ‘पहिलेको विषयमा अनुसन्धान गरिरहेका छौं ।’ भन्सारलाई सुराकी नआएको भए यो सुन पनि सहजै कट्ने अधिकृतहरु बताउँछन् ।
‘सुन कटाउनलाई छुट्टै टोली भएकाले उनी निश्चिन्त भएर आएका रहेछन्’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘तर, यसपालि यिनै व्यक्तिले सुन ल्याउँदैछन् भन्ने कंक्रिट सूचना थियो ।’ती सुन भित्र्याएपछि नेपालमै बेचबिखन हुन्थ्यो वा भारत लगेर बेचिन्थ्यो भन्नेबारेमा भने समितिले थप अनुसन्धान गरिरहेको छ। सुन भित्र्याएबापत कर्मचारीहरूले एक लाखदेखि एक लाख ६० हजार रुपैयाँसम्म बुझेको अनुसन्धानबाट देखिन्छ। कतिपय रकम उनीहरूले बाँडेर लिएको पनि देखिएको छ।
त्यसबाहेक समितिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), सरकारी वकिल कार्यालयसँग पनि सहयोग मागेको छ।छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरिरहेको पनि विमानस्थल भन्सार कार्यालय प्रमुख पाण्डेले बताए। अनुसन्धान गरेको २५ दिनभित्र हामीले मुद्दा दर्ता गर्नुपर्छ। छानबिन समितिले शुक्रबारसम्म प्रतिवेदन बुझाउने गरी काम गरिरहेको छ,’ उनले भने, ‘विस्तृत रूपमा अनुसन्धान भइरहेको छ।
केही समयअघि विमानस्थलको सबै सुरक्षा जाँच पास भएर बाहिरिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसअघि भेपमा लुकाएर ९ किलो सुन ल्याएको समेत खुलेको थियो । यो मामिलामा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल अहिले पनि थुनामा छन् ।सुन प्रकरणको अनुसन्धानका लागि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्ली आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको छ । समितिले यी प्रकरणका आरोपीहरुको हाल बयान लिइरहेको छ ।

Comments are closed.