२ खर्ब तरलता हुँदा पनि ब्याजदर बढी भएकाले ऋण प्रवाह भएन : अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ प्रणालीमा २ खर्ब तरलता भए पनि बैंकको ब्याजदर बढी भएकाले ऋण प्रवाह नभएको बताएका छन्।

शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकार र राष्ट्र बैंकले नीतिगत निर्णय गरी बैंकको ब्याजदर घटाएर कर्जा प्रवाहको वातावरण बनाउन आवश्यक रहेको बताए।

उनले स्थानीय तहमा गएको रकम ऋणपत्रलाई सिडी रेसियोमा गणना गर्न पाउने समय अवधि नबढाए बैंकमा रहेको २ खर्बको तरलता ५० अर्बमा झर्नसक्ने दाबी गरे। उनले स्थानीय तहको ऋणपत्र बैंकको सिडी रेसियोमा गणना गर्न असार मसान्तबाट गर्न नपाउने भन्ने डरले बैकहरूले कर्जा प्रवाह गर्न नसकेको बताए।

उनले बैंकहरूले कर्जा प्रवाह गर्नका लागि राष्ट्र बैंकको सिडी रेसियो कायम गर्ने समय थप गर्ने सुनिश्चितता गर्नुपर्ने बताए। उनले बैंकको खराब कर्जाको अनुपात ३ देखि ४ प्रतिशत पुगेको स्पष्ट पारे।

अध्यक्ष ढकालले सरकारले बजारमा तरलता सहज बनाउन तत्काल पुँजीगत खर्च बढाउन सरकारसँग माग गरे।

त्यसैगरी नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सरकारले आत्मनिर्भर अर्थतन्त्र बनाउने गरी नीतिगत व्यवस्था गर्नुपर्ने बताए। उनले सरकारले मुलुकभित्र भएको प्राकृतिक स्रोत र साधनलाई सदुपयोग र निर्यात प्रवर्द्धन गर्ने गरी राष्ट्रिय नीतिको व्यवस्था गर्न आवश्यक रहेको बताए।

उनले बैंकहरूले एक सय जनालाई मात्रै ऋण दिनु जोखिम रहेको भन्दै सरकारले ऋण दिँदा सोच्नुपर्ने उल्लेख गरे।

उनले मुलुकमा भएका ९० प्रतिशत उद्योग साना तथा मझौला उद्यमी रहेको भन्दै साना तथा मझौला उद्योगलाई सरकारले प्रवर्द्धन गर्नसके मुलुक आत्मनिर्भर बन्नसक्ने बताए।

Comments are closed.