मंगलबार बस्ने कांग्रेस केन्द्रीय समिति बैठकका लागि १० एजेण्डा तय

नेपाली काँग्रेस पार्टीले मंगलवारदेखि बस्ने केन्द्रीय कार्य समितिको बैठकका लागि दश वटा एजेण्डा तय गरेको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय कार्य समिति बैठकका लागि दश वटा एजेण्डा तय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले दशवटा एजेण्डा तय गरिएको जानकारी दिए । उनले पहिलो एजेण्डाको रुपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयमा छलफल हुने बताए । त्यसैगरी सांगठनिक कार्ययोजना र कार्यतालिका प्रश्तुत हुने उनले जानकारी दिए । उनले कार्यसम्पादन समितिले गरेका निर्णयहरु अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुने उल्लेख गरे ।

केन्द्रीय कार्य समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेश गर्ने एजेण्डा पनि रहेको छ । अरु एजेण्डामा पार्टीले प्रतिनिधि सभामा खेलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरुको सम्बन्धमा बैठकलाई जानकारी गराउने रहेको छ ।

उनले बैठकको प्रत्यक्ष प्रशारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको बताए । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि(मंगलबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको छ ।

Comments are closed.