काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामा लाभांशवापत करिब रू साढे १३ अर्ब रकम विदेशिएको छ ।
उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म रू १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३ सय २४ लाभांशवापत रकम फिर्ताको सिफारिस गरेको हो ।
विभागले आठ महिनामा रोयल्टीबापत रू २ अर्ब ८ करोड ९३ लाख ९७ हजार १ सय ७, ११ लाख ४८ हजार ७६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार ८ सय २५ भारतीय रुपैयाँ तथा ७ हजार युरो विदेश लैजानका लागि सिफारिस गरेको छ । विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतीपछि १५ दिनभित्र रकम लैजान पाइन्छ ।
फागुनमा मात्रै रू ३ अर्ब सिफारिस
विभागले फागुनमा मात्रै लाभांशवापत करिब रू ३ अर्ब विदेश लैजानका लागि सिफारिस दिएको छ । विभागले रू २ अर्ब ८ करोड १० लाख ८३ हजार विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीवापत फागुनमा मात्रै रू ३३ करोड ३० लाख ९१ हजार ५ सय ३७, २ लाख ५० हजार २४ अमेरिकी डलर, २० लाख १० हजार ५५, २५ भारतीय रुपैयाँ फिर्ता लैजाने गरी स्वीकृति प्रदान गरेको छ ।
शाखाका प्रमुख शङ्करसिंह धामीका अनुसार गत आवको तुलनामा चालु आवमा विदेशिने रकम बढ्ने विभागको अनुमान छ । ‘गत आवमा विभागले विदेशी लगानीका उद्योगको नाफा तथा रोयल्टीबापतको रकम लैजान कडाइ गरेको थियो, गत वर्ष कडाइ गर्दा अहिले लाभांश तथा रोयल्टी रकम धेरै विदेशिने अनुमान छ’,उनले भने ।
चालु आवको फागुनसम्म विभागले व्यवसायी भिसाअन्तर्गत १ हजार ६९ जना लगानीकर्ता, १ सय ५० जना प्रतिनिधि र ३ सय ९२ जना आश्रितका लागि सिफारिस गरेको छ ।
फागुनमा मात्रै विभागले १२३ जना लगानीकर्ता, २९ जना प्रतिनिधि र ७५ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । विभागका अनुसार फागुनसम्म २ सय ३९ उद्योगका लागि रू ३१ अर्ब २१ करोड ११ लाख ३२ हजार १ सय ९६ लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।
Comments are closed.