चुँदी रम्घाबेसीमा २१० औं भानु जयन्ती मनाइयो

२१० औं भानु जयन्तीका अवसरमा कवि तथा सहित्यकारहरूद्वारा चुँदीरम्घामा रचना वाचन गरि भानुभक्तलाई स्मरण गरेका छन । चुँदीरम्घा स्थित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको सभाकक्षमा खुला कविता प्रतियोगिता र भानुभक्तीय रामायण रचनापाठ वाचन प्रतियोगिताको आयोजना गरिएको थियो ।

समितिका अध्यक्ष ऋषिराम पन्तको सभापतित्वमा सम्पन्न उक्त प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभु घिमिरे र विशेष अतिथि नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तीर्थ श्रेष्ठ हुनुहुन्थ्यो ।

उक्त कविता प्रतियोगितामा दयाराम पौडेल प्रथम, विवेक पराजुली द्वितीय, विनायक नेपाली तृतीय भएका थिए भने रामायण वाचन प्रतियोगितामा आराध्य ढकाल प्रथम हुनुभएको थियो । त्यसरी नै रामायण वाचन प्रतियोगितामा स्वाधिनता पौडेल द्वितीय र प्रस्तुति आचार्य तृतीय हुनुभएको थियो । विनिशा श्रेष्ठ र रक्षा पौडेलले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो ।

उक्त प्रतियोगितामा उपस्थत कविहरू काशीराज आचार्य, विश्वविमोहन श्रेष्ठ र ज्योति जङ्गलको मूल्याङ्कन समितिले वाचनको मूल्याङ्कन गर्नुभएको थियो ।
सोही दिन भानु जयन्ती मनाउन चुँदीरम्घा पुगेका काठमाडौँका कविहरूले बन्दीपुरमा ‘काव्य साँझ’ मनाएका थिए । ‘काव्य साँझ’मा राजेन्द्र शलभ, विधान आचार्य, विश्वविमोहन श्रेष्ठ, नवराज कार्की, हिरण्यलाल ज्ञवाली, ज्योति जङ्गल, रीमा केसी, लक्ष्मी माली, अमृत छेत्री, प्रतिमा पोखरेल, ईश्वरमणि अधिकारी, किशोर पहाडी, सञ्जीव पौडेल, प्रकाश सिलवाल, काशीराज आचार्य, विष्णुविभु घिमिरे, भीष्म उप्रेती, असीम सागर, रुद्र ज्ञवाली, स्नेह सायमी र तीर्थ श्रेष्ठले कविता वाचन गर्नुभएको थियो ।

यसरी नै जन्मजयन्तीको गते प्रभातफेरी गरिएको थियो । भानु संस्कृत विद्यालयको प्राङ्गणमा आयोजित समारोहमा पनि कविद्वय ज्योति जङ्गल र रुद्र ज्ञवालीले आ–आफ्ना कविता वाचन गरेका थिए भने विधान आचार्य र प्रभा भट्टराई आचार्यद्वारा सम्पादित “भानुभक्त रामायण” पुस्तकको विमोचन पनि गरिएको थियो ।

Comments are closed.