बारा-पर्सा औद्योगिक कोरिडोरका ४ सिमेन्ट उद्योग बन्द, ५०० मजदूर बेरोजगार

पर्सा । बारा–पर्सा औद्योगिक कोरिडोमा सञ्चालित चार सिमेन्ट उद्योग बन्द हुँदा त्यहाँ कार्यरत पाँच सयभन्दा बढी मजदूर बेरोजगार भएका छन् । आर्थिक मन्दीका कारण देशकै सबैभन्दा ठूलो आर्थिक कोरिडोरमा सञ्चालित इन्टरनेसनल सिमेन्ट, विश्वकर्मा सिमेन्ट, कृष्णा सिमेन्ट र आरमेसि सिमेन्ट उद्याेगले उत्पादन बन्द गरेका हुन् । उत्पादन नै बन्द भएपनि त्यहाँ कार्यरत मजदुर र कर्मचारी बेरोजगार भएका हुन् ।
कोरिडोमा सञ्चालित १२ उद्योगमध्ये चारवटा बन्द भएका छन् । बाँकी उद्योग पनि बन्द हुने अवस्थामा पुगेकाे वीरगन्ज उद्योग बाणिज्य सङ्घका अध्यक्ष एवं श्री सिमेन्ट उद्योगका सञ्चालक अनिल अग्रवालले जानकारी दिए । उनले बैंकहरुको बढ्दो व्याज, पूर्वाधार विकासको निर्माणमा कमी र भएको निर्माण कार्यको भुक्तानी नगरिएका कारण समस्या उत्पन्न भएको बताए । सिमेन्टको माग घट्दै गएकाले पनि उद्योगहरु बन्द भएकाे अधयक्ष अग्रवालले बताए ।
भारतले नेपाली सिमेन्ट उद्योगलाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको खरानीमा प्रति टन रु एक हजार कर लिँदै आएको छ । यसतर्फ सरकारको ध्यान जान आवश्यक भएको उनको भनाइ छ । नेपाली सिमेन्ट उद्योगले वर्षौंदेखि माग गर्दै आएकोे भारतीय गुणस्तर चिन्ह बिआइएस दिलाउन सरकारले पहल गरेमा नेपाली सिमेन्ट भारत निर्यात गर्न सकिने तथा यसले उद्योगलाई फाइदा पुग्ने उद्योगीहरुको भनाइ छ ।

Comments are closed.