सम्पत्ति शुद्धीकरण मुद्दामा खुशीप्रसाद थारुसहित ५ जना दोषी ठहर

काठमाडौँ । विशेष अदालतले पाँचजनालाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ। बिहीबार विशेष अदालतले सम्पत्ति शुद्धीकरण विभागले दायरको मुद्दामा यसअघि दोषी ठहर भएका उनीहरूको हकमा सजाय निर्धारण गरेको हो । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु,तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले २०८२ असार ५ गते उनीहरूलाई दोषी ठहर गरेको थियो ।
उनीहरूलाई अदालतले ३ वर्ष र एक वर्ष ६ महिना कैद,बिगो र जरिवाना हुने सजाय निर्धारण गरेको हो । विशेषले दीपक राईको हकमा ८३ लाख १ हजार र मिलन लोवाको हकमा १ करोड १३ लाख ५७ हजार बिगो कायम हुने ठहर गरेको छ। विशेषले लोहालाई मुख्य अभियुक्त ठहर गर्दै सम्पत्ति शुद्धीकरण ऐन अनुसार ३ वर्ष कैद र बिगोको दोब्बर २ करोड २७ लाख १४ हजार जरिवाना गर्ने फैसला सुनाएको छ।
त्यस्तै दीपक राईको हकमा पनि ३ वर्ष कैद र बिगोको दोब्बर १ करोड ६६ लाख २ हजार जरिवाना हुने ठहर गरेको छ । त्यस्तै प्रतिवादीहरू सन्दीप राई, केसाङ्ग योल्मु र रामकुमार लोहालाई जनही १ वर्ष ६ महिना कैद हुने फैसला सुनाएको छ। विशेषले सन्दीपलाई २० हजार ५ सय, केसाङ्गलाई ५ लाख ७६ हजार र रामकुमारलाई ६ लाख ५० हजार जरिवाना गर्ने फैसला सुनाएको छ।विशेषले यही प्रकरणमा यो मुद्दाका अन्य दुई प्रतिवादीलाई भने सफाइ दिने फैसला गरेको थियो । दीपक, सन्दीप, केसाङ र रामकुमारले मिलनको खातामा पैसा जम्मा गरेको देखिएको र मिलनले उक्त पैसा झिकेकोले उनीहरूमाथि कसुर कायम भएको फैसला सुनाएको थियो ।
दीपक र मिलन यस मुद्दामा मुख्य कसुरदार ठहर भएका छन् भने अन्य तीन जना मतियार रहेको फैसला भएको थियो । मुख्य अभियुक्तलाई तीन वर्षको कैद हुँदा मतियारहरुलाई त्यसको आधार १ वर्ष ६ महिना कैद अदालतले सुनाएको हो । प्रतिवादीहरू भीमकुमार लोवा र राजेश श्रेष्ठले भने सफाइ पाएका थिए । उनीहरूले लागु औषध किनबेचबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको विभागको अनुसन्धानले देखाएपछि पाँच करोड २७ लाख रुपैयाँभन्दा बढी बिगो कायम गर्दै २३ माघ ०८० मा मुद्दा दायर भएको थियो ।

Comments are closed.