५१ हजारमा मानार्थ विद्यावारिधि, शिक्षा मन्त्रालयको रोक

काठमाडौं । एक भारतीय संस्थाले ५१ हजार रुपैयाँ लिएर मानार्थ विद्यावारिधिको उपाधि बाँड्न लागेकामा शिक्षा मन्त्रालयले रोक लगाएको छ ।दिल्लीस्थित सोक्रेटस सोसल रिसर्च युनिभर्सिटी नामक संस्थाले शनिबार रकम लिएर मानार्थ विद्यावारिधिको उपाधि बाँड्ने कार्यक्रमका लागि नेपाल पर्यटन बोर्डको सभाहल बुकिङ गरेको थियो । भारतमा समेत विधिवत् दर्ता नभएको उक्त संस्थाले मानार्थ विद्यावारिधिका अतिरिक्त २१ हजार नेपाली रुपैयाँ लिएर इन्टरनेसनल गौरव अवार्डसमेत बाँड्न लागेपछि शिक्षा मन्त्रालयले हस्तक्षेप गरेको हो ।
अवार्ड थाप्न र उक्त संस्थाको सदस्यता लिन चार पानाको एक फाराम भराउने गरिएको थियो । विदेशी संस्थाले शैक्षिक उपाधि दिन मन्त्रालयको स्वीकृति लिनुपर्नेमा कुनै जानकारी नदिई कार्यक्रम गर्न लागेको थाहा पाएपछि रोक लगाउन निर्देशन दिएको शिक्षामन्त्री सुमना श्रेष्ठले सामाजिक सञ्जालमार्फत् जनाउनुभएको छ ।
मन्त्री श्रेष्ठले उक्त संस्थाले गरेको क्रियाकलापलाई ठगीको रुपमा लिई सघन अनुसन्धान गर्न र संलग्नलाई हदैसम्मको कारबाही गर्नसमेत गृह मन्त्रालयलाई आग्रह गर्नुभएको छ । नेपाली समाजमा नामको अगाडि ‘डाक्टर’ राख्ने मोह उदेकलाग्दो रहेको र यस्ता बिकाउ उपाधि र पुरस्कारको पछि नलाग्न आग्रह गर्दै मन्त्री श्रेष्ठले भविष्यमा कसैले यस्तो गरेको थाहा पाए सम्बन्धित निकायमा उजुरी गर्नसमेत सबैमा अपिल गर्नुभएको छ ।

Comments are closed.