संघीय संसद्का ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का ६ वटा संसदीय समितिको बैठक आज बिहीबार बस्दै छन् ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान १ः३० बजे बस्ने भएको छ । बैठकमा सोह्रौँ पञ्चवर्षीय योजनाको मुख्य विषयवस्तु र अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सरकारको रणनीति र तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठकमा दिगो विकास लक्ष्य कार्यान्वयनको प्रतिवेदन तयारी सम्बन्धमा पनि छलफल हुने छ ।
त्यस्तै बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमा छलफल हुनेछ ।
यसै गरी सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्दै छ । सो बैठकको कार्यसूची भने सार्वजनिक भएको छैन ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपराह्न १२ः३० बजेका लागि बोलाइएको छ । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो एक बजे बस्दै छ । बैठकमा एसिड आक्रमण पीडितको क्षतिपूर्ति सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बस्दै छ । आज दिउँसो एक बजे बोलाइएको बैठकमा बौद्धनाथ क्षेत्र विकास समितिबाट भएका कामकारबाही, प्रमुख सवाल, समस्याहरू र भावी कार्य योजनाका विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Comments are closed.